तपाईँ सुन्दै हुनुहुन्छः

टेक्सासमा सोनाम ल्होछार विशेष सांस्कृतिक साँझ हुँदै

काठमाडौँ । अमेरिकाको टेक्सासमा सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ समुदायको धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा रहेको सोनाम ल्होछारको अवसरमा तामाङ सोसाइटी अफ टेक्सासले ल्होछार विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । तामाङ मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गर्न लागिएको तामाङ सोसाइटी अफ टेक्सासका अध्यक्ष कुमार योन्जन तामाङले बताउनुभयो । देशभन्दा बाहिर रहँदा नेपाली मौलिक संस्कृतिको महत्त्व झनै बढेको अनुभव सुनाउँदै उहाँले संस्कृतिको निरन्तर अभ्यास र नयाँ पुस्तामा मौलिक संस्कृतिको पुस्तान्तरण र अभ्यासका लागि कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो । जनवरी ३१ मा हुने सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम डायमन्ड हल,ब्याङ्क्वयट हल इभेन्ट सेन्टर अर्भिङमा हुनेछ । कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका महावाणिज्य दूत श्री सुरेश अधिकारी रहनुभएको उहाँले बताउनुभयो ।

डलास टेक्सासमा रहेका नेपाली समुदायमाझ नेपाली मौलिक संस्कृति संरक्षणमा हातेमालो गर्दै आएको तामाङ सोसाइटी अफ टेक्सासले ल्होछारको अवसरमा आयोजित यस कार्यक्रममा तामाङ मौलिक संस्कृति झल्कने सांगितक प्रस्तुतिको तयारी गरेको छ । कार्यक्रममा स्थानीय कलाकार गायक सन्तोष लामा,मोडल रश्मि तामाङका साथै नेपालबाट आमन्त्रित गायक विजय लामा,गायिका निर्मला घिसिङको प्रस्तुति रहनेछ । विभिन्न कारणले बिदेसिनु परे पनी नेपाली संस्कृतिप्रति माया र सम्मान रहेकाले भिन्न समयमा हुने विभिन्न नेपाली पर्वहरूलाई मनाएर नेपाली हुनुको पहिचानलाई जीवित राख्ने कोसिस गरिएको अध्यक्ष तामाङले बताउनुभयो ।

अहिले देशैभर लगायत परदेशका विभिन्न सहरमा सोनाम ल्होछारको अवसरमा कार्यक्रमहरू आयोजना भइरहेका छन् । माघ ५ गते प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा टुँडिखेलमा उद्घघाटित् सोनाम ल्होछार सांस्कृतिक कार्यक्रमको निरन्तरता स्वरूप यतिखेर अमेरिकाका विभिन्न सहरहरू, क्यालिफोर्निया, न्यु योर्क, पेन्सिलभेनिया, वासिङ्टन डिसीमा समेत ल्होछारको सन्दर्भमा विभिन्न कार्यक्रम आयोजनाको तयारी रहेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । यस्तै तामाङ समाज पोर्चुगलले पनि ल्होछारको अवसरमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । लिस्बनमा हुने उक्त कार्यक्रम जनवरी २५ मा हुने तय गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button