बाजुरा अस्पतालमा पहिलोपटक माइक्रोबायोलोजी ल्याब सेवा सुरु
बाजुरा। जिल्ला अस्पताल बाजुराले थप सेवा प्रभावकारी बनाउन जिल्लामै पहिलो पटक माइक्रोबायोलोजी ल्याब सेवा सञ्चालनमा ल्याएको छ।

औपचारिक रुपमा सुरु गरिएको यस सेवासँगै अब ल्याबमा ‘कल्चर सेवा’ समेत सुचारु भएको छ।
जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख तथा चिकित्सक डा.चन्द्रशेखर यादवका अनुसार यो सेवाबाट कुन रोग कुन किटाणु ९जीवाणु० का कारण भएको हो भन्ने यकिन गर्न सकिनेछ। साथै सो रोगमा कुन एन्टिबायोटिक प्रभावकारी हुन्छ भन्ने पनि थाहा पाउन सकिने भएकाले सही निदान र उपचारमा ठूलो सहयोग पुग्नेछ।
“विगतमा रोगको कारण ठ्याक्कै पत्ता लगाउन नसकिने र एन्टिबायोटिकको सही प्रयोग हुन नसक्ने अवस्था थियो,” डा। यादवले भन्नुभयो। दक्ष जनशक्ति र उपकरणको उपलब्धतासँगै हाल जिल्ला अस्पतालबाट दैनिक दुई सयभन्दा बढी बिरामीले सेवा लिइरहेका छन्। बाजुराका नौ वटै स्थानीय तहका साथै छिमेकी जिल्ला मुगु, बझाङ र हुम्लाबाट समेत रिफरल बिरामी आउने गरेका डा। यादवले जानकारी दिनुभयो।
हाल जिल्ला अस्पताल बाजुरामा स्त्रीरोग विशेषज्ञ, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ सहित ११ जना चिकित्सकको टिम कार्यरत छ। आगामी दिनमा अति सघन उपचार कक्ष (आइसियु) तथा थप दक्ष जनशक्तिको व्यवस्थापन गर्न सके जिल्लामै अधिकांश बिरामीले सहज र सुलभ उपचार पाउने डा। यादवको भनाइ छ।
जिल्ला अस्पताल बाजुराको पहल र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को आर्थिक सहयोगमा उक्त अत्याधुनिक ल्याब उपकरण जडान गरिएको हो। विश्व स्वास्थ्य सङ्गठनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँ मार्फत उपकरण हस्तान्तरण गरी जडान कार्य सम्पन्न गरेको जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्