एक सय तीन वर्षिया वृद्धाको मस्तिष्कको जटिल शल्यक्रिया
काठमाडौँ । वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको जटिल तथा दुर्लभ शल्यक्रिया गरिएको छ । कोटेश्वर बस्ने १०३ वर्षीया वृद्धाको सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।
अचेत अवस्थामा अस्पताल आइपुगेकी ती वृद्धाको मस्तिष्कमा ठूलो रक्तस्राव भएपछि न्यूरोसर्जिकल शल्यक्रिया सफलतापूर्वक गरिएको उपचारमा संलग्न चिकित्सक तथा न्युरो सर्जरी विभागका प्रमुख प्रा डा राजीव झाले जानकारी दिनुभयो ।
“उहाँ अस्पताल आइपुग्दा अचेत अवस्थामा हुनुहुन्थ्यो । विस्तृत जाँच परीक्षण पछि उहाँको मस्तिष्कमा धेरै ठूलो रक्तस्राव भइरहेको पत्ता लाग्यो र तुरुन्तै न्यूरोसर्जिकल शल्यक्रिया आवश्यक थियो”, डा झाले भन्नुभयो, “यस्तो उमेरमा मस्तिष्कको शल्यक्रिया गर्नु चिकित्सकीय र नैतिक दुवै दृष्टिले ठूलो चुनौती थियो । न्यूरोसर्जरी विभागको टोलीले छलफल र बिरामीको परिवारसँगको परामर्शपछि शल्यक्रिया गर्ने सामूहिक निर्णयमा हामी पुग्यौँ र शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो ।” झाका अनुसार शल्यक्रियापश्चात् बिरामीको उल्लेखनीय सुधार देखिएको छ ।
झाको नेतृत्वको शल्यक्रियामा डा समीर अर्याल, डा नम्रता खड्का, डा आयुष विमली, स्टार्फनर्स सिन्धु गौतमलगायत रहनुभएको थियो । बिरामी हाल होसमा रहेको र बोल्न सक्ने अवस्था, आफैँ खाना खानसक्ने हुनुभएको छ ।
उहाँले १०० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिमा सफल मस्तिष्क शल्यक्रिया हुनु विश्वमै दुर्लभ मानिने बताउनुभयो । बिरामीको पछिल्लो एक महिनादेखि कहिलेकाहीँ टाउको दुख्ने र पटक पटक लड्नेजस्ता समस्या देखिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्