तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा बृहत् आँखा शिविर हुँदै, डा. रुइतद्धारा मोतियाबिन्दुको शल्यक्रिया गरिने  

दयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका र बेलका नगरपालिकामा दश दिन लामो बृहत् आँखा शिविर सञ्चालन हुने भएको छ । 

जिल्लाका तीन पालिका र तिलगंगा आँखा अस्पताल काठमाण्डूको आयोजना तथा भिजन हिमालय फाउन्डेसनको सहयोगमा शिविर सञ्चालन हुने चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले जानकारी दिनुभयो । शिविर यही पुष १९ गते चौदण्डी र सिद्धिपुरबाट सुरु हुने छ भने चौदण्डीगढी नगरपालिकाका सबै वडा र त्रियुगा नगरपालिकाको वडा नम्बर २, १२, ५ र ६ त्यसै गरि बेलका नगरपालिकाको २, ४, ८ र ५ नम्बर वडामा  सञ्चालन हुने छ । पुष १९ गते देखी वडा वडामा सञ्चालित हुने बृहत् आँखा शिविरमा मोतियाविन्दु छनौट हुने बताइएको छ । 

शिविरमार्फत पाइएका मोतियाविन्दु बिरामीको आँखाको अप्रेसन चौदण्डीगढी ६ सातधारेमा रहेको कोभिड अस्पतालमा यही पुष  २८, २९ र ३० गते निःशुल्क गरिने छ । उक्त अप्रेसन प्रख्यात नेपाली आँखाका डाक्टर तथा तिलगंगा आँखा केन्द्रका निर्देशक डा. सन्दुक रुइतले गर्ने चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लुङ्गाराज राईले जानकारी दिनुभयो ।

डा. सन्दुक रुइत विश्वविख्यात सरल र कम लागतको मोतियाविन्दुको चिकित्सापध्दति ’रुईतेक्टोमी’का सुरुवातकर्ता पनि हुनुहुन्छ ।

यस किसिमको आँखा शिविर चौदण्डीगढी नगरपालिकाले भने हरेक बर्ष निःशुल्क रुपमा सञ्चालन गर्दै आएको थियो । तर यस बर्ष भने यस आयोजनामा त्रियुगा नगरपालिका र बेलका नगरपालिकाका केही वडा समावेश भएका छन् । उदयपुरमा पहिलो पटक प्रख्यात नेपाली आँखाका डाक्टर सन्दुक रुइत आएर आँखाको शल्यक्रिया गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button