तपाईँ सुन्दै हुनुहुन्छः

माछापुच्छ्रे टेनिसमा महिलातर्फ शिवाली च्याम्पियन

पोखरा । पोखरा रङ्गशालामा जारी २२ औँ संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता अन्तर्गत महिला तर्फ शिवाली गुरुङ च्याम्पियन हुनुभएको छ । 

कास्की जिल्ला टेनिस सङ्घले आयोजना गरेको उक्त प्रतियोगिताको मङ्गलवार भएको फाइनल खेलमा शिवालीले नेपाल शिर्ष वरियताप्राप्त सुनिरा थापालाई ६–३, ६–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल हुनु भयो । 

मेन्स सिंगल्सतर्फ पनि नेपाल नम्बर १ खेलाडी प्रदीप खड्काको यात्रा सेमिफाइनलमै सीमित बनेको छ । उहाँलाई आयुष्मान् घलेले २–१ को सेटमा पराजित गर्दै फाइनलमा यात्रा तय गर्नुभयो । पहिलो सेट २–६ ले आफ्नो पक्षमा पार्नु भएको प्रदीपले दोस्रो र तेस्रो सेट क्रमशः ६–४, ६–२ ले हार्न पुग्नुभयो । अर्को सेमिफाइनलमा भारतबाट आएका नेपाली खेलाडी करण बहादुर थापाले राजविर प्रधानलाई ६–३, ६–२ को सोझो सेटमा पराजित गर्नुभयो । योसँगै प्रतियोगिताको मुख्य इभेन्ट मेन्स सिङ्गलको उपाधिका लागि आयुष्मान् र करणको भेट पक्का भएको हो । 

५५ वर्ष भन्दा माथिको पुरुष एकल तर्फ चन्द्र शाही प्रथम हुनुभयो । जीवन घिमिरेलाई ६–०, ६–४ ले पराजित गर्दै शाहीले उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभयो । ४५ वर्षमाथि पुरुष सिंगल्समा कमल भण्डारीले फाइनलमा देव क्षेत्रीलाई ६–२, ६–० को सोझो सेटमा हराउँदै उपाधि जित्नुभयो भने ३५ वर्षमाथि सिंगल्समा पूर्व नेपाल नं १ जितेन्द्र परियार र सन्तोष खत्री फाइनलमा भिड्ने हुनुभएको छ । आज सम्पन्न सेमिफाइनलमा जितेन्द्रले पेमा नोर्वुलाई ६–०, ६–२ ले तथा सन्तोषले भिष्मजङ्ग गुरुङलाई ६–४, ६–४ ले पराजित गरी उपाधि नजिक पुग्नुभएको हो । 

प्रतियोगिता १२ इभेन्टमा १ सय ६० जना खेलाडीहरूले प्रतिस्पर्धा गर्नुभएको हो । प्रतियोगिताको फाइनल खेल तथा पुरस्कार वितरण कार्यक्रम बुधबार हुने टुर्नामेन्ट सुपरभाइजर कुमार अधिकारीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button