आठौँ बागलुङ महोत्सव : स्थानीय उत्पादन प्राथमिकतामा
बागलुङ । बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस ११ गतेदेखि सञ्चालित आठौँ बागलुङ महोत्सवमा स्थानीय उत्पादनले प्राथमिकता पाएका छन् ।
बागलुङमा उत्पादन भएको डाला, नाङ्ला, ठेकादेखि अल्लोका कपडासम्म महोत्सव स्थलमा देख्न सकिन्छ । घरेलु उत्पादनको बजारीकरणसँगै प्रचारप्रसारका लागि आयोजकले निःशुल्क कक्षको व्यवस्था मिलाएको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिनुभयो ।
महोत्सवमा दुई सय बढी व्यापारिक कक्ष छन् । जसमध्ये केही कक्षमा बागलुङमा उत्पादित सामग्रीले ‘मेड इन बागलुङ’को नामबाट छुट्टै प्राथमिकताका साथ स्टलहरू पाएको छ । जुन स्टललाई आयोजकले निःशुल्क प्रदान गरेको छ ।
उहाँले बिहुँ र सिगानाका सुन्तलादेखि बागलुङमा प्याकेजिङ गरिएका मकैदेखि हस्तकलाका विभिन्न सामग्री बिक्रीका लागि कक्षलाई मेड इन बागलुङका नाममा छुट्ट्याइएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।
महोत्सवमा बिहुँको बिहुँकोट साना किसान कृषि सहकारीमार्फत प्याकेजिङ गरिएका सुन्तला, तमानखोलाको स्थानीय हस्तकलाका सामग्री र तारा खोलाको भाँगोदेखि डोका, नाम्लासम्म महोत्सवका कक्षमा देख्न पाइन्छ । बिहुँको सुन्तलालाई ‘केस्रा ब्रान्ड’मा बजारमा ल्याइएको छ । विगतका महोत्सवमै प्रचारप्रसार भएका कारण जैमिनी नगरपालिका–३ मा उत्पादन भएको बाकोको गुन्द्रुक र सिस्नोको पाउडरले राम्रो बजार पाउन थालेको थियो ।
बागलुङका १० वटै स्थानीय तहका उत्पादन, कृषि उपज तथा हस्तकलाका घरेलु सामग्री बिक्री तथा प्रदर्शनीका लागि एक–एकवटा स्टल उपलब्ध गराइएको मेलाका आयोजक तथा मेड इन बागलुङ कार्यक्रमका संयोजक सुदीपसागर कँडेलले जानकारी दिनुभयो ।
पुस २१ गतेसम्म चल्ने महोत्सवमा कुल रु १० करोडको कारोबार हुने लक्ष्य लिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्