उदयपुरमा नेपाली सेनाले ९१ किलोमिटरको पदयात्रा गर्ने
उदयपुर। उदयपुर जिल्लामा रहेको पुरानो ऐतिहासिक गढी उदयपुरगढी देखी चौदण्डीगढी सम्मको ९१ किलोमिटरमा नेपाली सेनाले पदयात्रा गर्ने भएको छ ।
नेपाली सेनाले ऐतिहासिक गढी, किल्लाको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले अघिल्लो वर्ष तत्कालीन गणपति प्रमुख सेनानी शिव वाग्लेको कार्यकालमा सुरु गरेको अभियानलाई निरन्तरता दिँदै यस वर्ष पनि पदयात्रा सञ्चालन गर्ने भएको हो । पदयात्रा सञ्चालनको लागि मङ्गलवार प्रारम्भिक चरणमा सरोकारवालाहरूसँग नेपाली सेनाले समन्वय बैठक समेत सम्पन्न गरेको छ ।

यही पुष २१ गते ऐतिहासिक गढी उदयपुरगढीबाट सुरु हुने पद यात्रा पुष २७ गते अर्को ऐतिहासिक गढी चौदण्डीगढीमा पुगेर समापन हुने छ । पद यात्रा ९१ किलोमिटरको रहने छ । पद यात्राको क्रममा नेपाली सेनाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना समेत तयार पारेको छ ।
पुष २१ गते उदयपुर जिल्लाको ऐतिहासिक गढी दरबार क्षेत्र उदयपुरगढी गाउँपालिकाको केन्द्र समेत रहेको उदयपुरगढीबाट सुरु भएको पदयात्रा सोही पालिकाको डुम्रे, डुम्रे भन्ज्याङ, पुवारे भञ्ज्याङ, रौतामाई गाउँपालिकाको रानीवास, त्रियुगा नगरपालिकाको साउने, चौदण्डीगढी नगरपालिकाको विरेन्द्र बजार हुँदै ऐतिहासिक गढी चौदण्डीगढी पुगेर समापन हुने छ ।
ऐतिहासिक गढीको संरक्षण, पर्या पर्यटनको विकास र नयाँ पुस्तालाई इतिहास, भूगोल र नैतिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सेनाले पदयात्रा सञ्चालन गर्न लागेको नेपाली सेनाका पशुपति प्रसाद गणका गणपति प्रमुख सेनानी मनोजजंग कार्कीले जानकारी दिनु भयो ।
७ दिन लामो यात्राको क्रममा सो क्षेत्रमा पर्ने विद्यालयहरूमा विभिन्न प्रतियोगितात्मक कविता, निबन्ध, हाजिरीजबाफ लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने र सो को व्यवस्थापन र सहयोग स्थानीय पालिकाहरूले गर्ने पशुपति प्रसाद गणले जानकारी दिएको छ ।
पद यात्रालाई थप आकर्षण बनाउन नेपाली सेनाको ऐतिहासिक कालो पोसाकका सैनिकहरूलाई समेत सहभागिता गराउने योजना रहेका प्रमुख सेनानी कार्कीले जानकारी दिनु भयो । पदयात्रामा नेपाली सेना सँगै सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, कर्मचारी, पत्रकार, स्थानीय नागरिक लगायतलाई सहभागी भएर पदयात्रा सफल बनाउनको लागि सेनाले आग्रह समेत गरेको छ ।
पदयात्रालाई थप व्यवस्थित गर्नका लागि विभिन्न चरणमा बैठक तथा प्रचार प्रसारको कार्य अघि बढाइने जनाइएको छ ।
त्रियुगा नगरपालिका १० गाईघाट बोक्से स्थित सेनाको पशुपति प्रसाद गणमा मङ्गलवार सम्पन्न समन्वय बैठकमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, उदयपुरगढी गाउँपालिका उपाध्यक्ष जितबहादुर खड्का, रौतामाई गाउँपालिका उपाध्यक्ष भूपेन्द्र बहादुर थापा, सुरक्षा निकायका प्रमुख, पत्रकार महासङ्घ उदयपुरका अध्यक्ष भक्ति विलास पोखरेल, होटेल तथा पर्यटन व्यवसायी, साईकलिङ संघ, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्