दाङको हापुरखोलामा पुल निर्माण कार्य अझै सुरु भएन
म्याद सकिन एक महिना बाँकी
लीलाधर वली
घोराही । दाङको घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत हापुरखोलामा पुल निर्माणको म्याद सकिन एक करिब एक महिना मात्र बाँकी रहँदा समेत काम सुरु हुन सकेको छैन । २०८२ पुस महिनाभित्र निर्माणको काम सक्ने गरी २०७९ असार २९ गते ठेक्का सम्झौता भएको पुल अझै सुरु हुन सकेको छैन ।

घोराही र तुलसीपुर उपमहानगरपालिकाको सिमामा रहेको हापुरखोलामा एक सय ५० मिटर लम्बाइ रहेको चारलेन पुल निर्माणका लागि २७ करोड ८४ लाख ३१ हजार सात सय रुपियाँमा शर्मा सगुन जेभी रुपन्देहीसँग ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अनुसार पुल निर्माणको अन्तिम चरणको काम हुनुपर्ने भए पनि अहिलेसम्म काम हुन नसकेको पुल सेक्टर कार्यालय नेपालगन्ज बाँकेका इन्जिनियर रामकिसुन थारु बताउनुहुन्छ । निर्माण व्यवसायीलाई पटक पटक ताकेता गर्दा पनि पुल निर्माणको काम सुरु हुन नसकेको बताउनुभयो ।
पुल निर्माणको जिम्मा पाएको शर्मा सगुन जेभीका प्रतिनिधि सुमन मिश्रले भने पुल निर्माणको काम सुरु गर्ने तयारीमा रहेको बताउनुहुन्छ । पुल निर्माणका लागि आवश्यक पर्ने सामग्री छठ, मेसिनरी सामग्रीसँगै कामदार समेत पुल निर्माण स्थलमा आइसकेकाले तत्काल काम सुरु गर्ने तयारी भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘‘ग्वारखोलाको दुई ठाउँमा पुल निर्माणको काम भइरहेका कारण हापुरखोलामा पुल निर्माण केही ढिलाइ हुन पुगेको हो । ग्वारखोलाको जस्पुरमा पुल निर्माणको काम सकिएकाले अव हापुरखोलामा काम गर्छौँ ।’’
हापुरखोलामा पुल निर्माणका लागि ठेक्का भएको सगुन शर्मा जेभीले नै घोराही–तुलसीपुर सडकअन्तर्गत कालाखोलामा चारलेन र ग्वारखोलामा दुई लेन पुल निर्माणको समेत ठेक्का पाएको छ । ग्वारखोलामा पुल निर्माणको पुलको करिब १२ प्रतिशत काम गरे पनि कालाखोलामा पुल निर्माणको काम अझै सुरु हुन सकेको छैन ।
कालाखोलामा पुल निर्माणको काम सुरु गर्नलाई तत्काल डाइभर्सन निर्माण गर्नुपर्ने र त्यसका लागि विद्युत् कार्यालयले पोल सार्न ढिलाइ गरिदिएका कारण काम अघि बढाउन समस्या भइरहेको निर्माण कम्पनीका प्रतिनिधि मिश्र बताउनुहुन्छ । समयमा पुल निर्माणको काम हुन नसके पनि पुल सेक्टर कार्यालय नेपालगन्जले भने तीन वटा पुलको दुई/दुई वर्ष म्याद थपका लागि विभागमा फाइल पठाएको इन्जिनियर थारुले बताउनुभयो । -गाेर्खापत्र








प्रतिक्रिया राख्नुहोस्