तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा रङ्गशालाको फुटबल स्टेडियममा फ्लटलाईट जडान गर्ने मन्त्री घिसिङको आश्वासन

पोखरा । नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पोखरा रङ्गशालामा फ्लटलाइट जडान गर्ने बताउनु भएको छ । पोखरा रंगशालाको आइतबार निरीक्षण गर्दै मन्त्री घिसिङले खेलकुदकर्मीहरूको माग अनुसार सरकारले पोखरा रङ्गशालामा फ्लटलाइट यसै बर्ष जडान गर्ने प्रक्रिया अघि बढाउने बताउनु भएको हो । 

१२ देखि १५ करोड लाग्ने ठूलो परियोजना कसरी बजेट व्यवस्थापन गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा मन्त्री घिसिङले त्यो आवश्यकताको आधारमा आफूहरूले यसै वर्ष उक्त फ्लटलाई जडान गर्ने गरी बजेट व्यवस्थापन गर्ने बताउनु भयो । उक्त परियोजना एकै पटक सम्पन्न हुने गरी परियोजना अघि बढाउने उहाँले जनाउनु भयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले मन्त्री घिसिङ समक्ष फ्लटलाइडको प्रस्ताव पेश गर्नुभएको छ । यस अघि धेरै मन्त्री र नेताहरूसँग उक्त परियोजनाको लागि बजेट माग गर्दा सुनुवाई नभएको उहाँले गुनासो गर्नु भयो । 

पोखरा रङ्गशाला फुटबल स्टेडियम १ अरब २८ करोडको लागतमा निर्माण भए ता पनि फ्लटलाइट बिना साँझ र बेलुका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू हुन नसकेको अध्यक्ष गुरुङले बताउनु भयो । समितिका कार्यालय प्रमुख डीबी नेपालीले मन्त्रीलाई पोखरा रंगशालाको बारेमा जानकारी(ब्रिफिङ) गराउनु भएको थियो ।  उज्यालो नेपाल गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्न शनिबार पोखरा आउनुभएको मन्त्री घिसिङ आइतबार पोखरा रङ्गशाला निरीक्षण गरेसँगै उहाँलाई खेलकुदकर्मीहरूले पोखरा रङ्गशालामा स्वागत गर्नुभएको थियो ।

साथै मन्त्रीले पोखरा रङ्गशालाको चाइना पुल सँगै सेतीनदी माथि निर्माण हुँदै गरेको करिब १ अरबको सिग्नेचर पुलको समेत निरीक्षण गर्दै समयमै उक्त पुल निर्माण गर्न ठेकेदार कम्पनीलाई निर्देशन समेत दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button