तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थीहरूलाई सहयोग जुटाउन समूह गठन

तनहुँ । साधारण परिवारमा जन्मेका बच्चाहरूले आफ्नो विद्यार्थी जीवनमा भोग्नुपरेका विभिन्न कठिनाइ सम्झेर अहिलेका ससाना नानी बाबुहरूले कमसेकम त्यो भोग्नु नपरोस् र शिक्षाको उज्यालो किरणबाट कोही पनि वञ्चित नहोउन् भन्ने सोचाई राख्ने प्रभात माध्यमिक विद्यालयका भूपू विद्यार्थी तथा गजलकार पूर्ण थापाको अगुवाइमा विद्यार्थीहरूलाई सहयोग जुटाउन एक समूह गठन गरिएको छ । समूहमा देश तथा विदेशमा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध सामाजिक अभियन्तादेखि भूपू विद्यार्थी समेटिनुभएको छ । 

भानु–६ निवासी तथा त्यस समूहका सक्रिय सदस्य श्री प्रेम अधिकारीले भन्नु भयो , “यसै वर्षदेखि हामीहरुले आर्जन गरेको केही बचाएर सम्पूर्ण विद्यार्थीलाई आवश्यक पर्ने एक वर्षको लागि निःशुल्क ‘स्टेसनरी’ परीक्षण को रुपमा उपलब्ध  गराएका छौ । यस अभियानले विद्यालयमा सकारात्मक प्रभाव पारेमा यसलाई निरन्तरता दिने सोच रहेको छ । उहाँले अगाडि भन्नुभयो, ‘विद्यार्थीहरूले के कस्तो उपलब्धी हासिल गरे? अभिभावकको कस्तो प्रतिक्रिया रह्यो? शिक्षकले कस्तो अनुभव भयो? त्यो भविष्यले देखाउने छ ।’

विद्यालय  व्यवस्थापन समितिका सदस्य श्री सन्त बहादुर खड्गीले छिमेकी विद्यालयका विद्यार्थीहरूले विगतदेखि नै जाडोमा ट्र्याक सुट लगाउने गरेको र आफूले केही वर्षदेखि विद्यार्थीहरूका लागि ट्र्याक सुट हाल्दिन पहल गरेको तर असमर्थ भएको बताएपछि सो समूहको त्रिचालिस हजार सहयोग र आधा रकम अभिभावकले बेहोर्ने गरी विद्यालयका प्रअ श्री चीज कुमार सुर्ख़ालीलाई ट्र्याक सुट हस्तान्तरण गरिएको छ । त्यस अवसरमा प्रधानाध्यापक सुर्खालीले सहयोगी  सम्पूर्णलाई  धन्यवाद ज्ञापन गर्नुभयो । 

उक्त सहयोगी समूहमा काठमाडौँ निवासी बबि सिंह तथा कालीदास दाहाल, पोखरा निवासी तौ  प्रसाद गुरुङ, लक्ष्मी गुरुङ र टोल प्रसाद गुरुङ, प्रभात माविका भूपू विद्यार्थीहरू प्रेम अधिकारी, संजु अधिकारी, राम प्रधान, लक्ष्मण प्रधान, सुजन  खड्गी, सुक सुर्खाली, रितेश खड्गी र पूर्ण थापा रहनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button