कर्बला क्षेत्रमा अनुमति बिना मदरसा सञ्चालन, खुला आकाशमुनि कक्षा लिन बाध्य ६५ बालबालिका
बाँके। नेपालगञ्ज उपमहानगरपालिका–१३, उदयपुर मुस्लिम समुदायको अत्यन्त संवेदनशील धार्मिक स्थल—कर्बला क्षेत्र। यही ठाउँ, जहाँ मोहरम पर्वपछि ताजिया विसर्जन गरिन्छ र कुटीभित्र बाबाको मजार अवस्थित छ, पछिल्ला सात महिनादेखि अपेक्षाकृत फरक कारणले चर्चामा छ।

धार्मिक अभ्यासका लागि निर्धारित गरिएको सो क्षेत्रकै छेउमा कानुनी स्वीकृति बिना मदरसा सञ्चालन भइरहेको तथ्य बाहिर आएपछि स्थानीयवासीदेखि सरोकारवाला निकायसम्म चासो बढेको छ।
कर्बला क्षेत्रको कुटीअगाडि खुला आकाशमुनि—न बेन्च–डेस्क, न पुस्तकालय, न त शैक्षिक वातावरण। तर यिनै असुविधामय अवस्थाबिच ६५ जना बालबालिका दैनिक रूपमा अरबी र उर्दु शिक्षा लिँदै आएका छन्। कक्षा चलाउने शिक्षक भारतको बाबागञ्जका हाफिज रियाजुद्दिन हुन्। उहाँले छात्र–छात्रासँग मासिक २०० रुपैयाँ शुल्क लिएर पढाइ गर्ने गरेको बताउँदै, “यहाँ दर्ता वा अनुमति आवश्यक हुन्छ भन्ने जानकारी नै थिएन,” भन्नुभयो।

यसै क्रममा मदरसामा पढ्ने बालबालिका गर्मी–जाडोको परवाह नगरी जोखिमपूर्ण शैक्षिक वातावरणमा बस्न बाध्य भएको देखिन्छ। अभिभावकहरू आर्थिक अवस्था कमजोर भएकै कारण बालबालिकालाई नजिकै रहेको दर्ता भएको मदरसामा पठाउन नसक्ने बताउँदै आएका छन्। तर धार्मिक स्थलमै यसरी कक्षा सञ्चालन हुनु उचित नभएको स्थानीय नेतृत्वको धारणा छ।
कर्बला नगर मुतसिलका अध्यक्ष अब्दुल सत्तार खान भन्नुहुन्छ—“धार्मिक र सांस्कृतिक दृष्टिले संवेदनशील स्थानमा यस्तो अनधिकृत मदरसा सञ्चालन हुनु कानुनको उपहास हो। बालबालिकालाई दर्ता भएको मदरसामै पठाउनु सबैका लागि हितकर हुन्छ।”

यस्तै, कुट्टीका गुलाम सरिफले पनि कर्बला क्षेत्रलाई धार्मिक अभ्यासका लागि सुरक्षित र व्यवस्थित राख्नुपर्ने बताउँदै, “कुटीभित्र बाबाको मजार छ, ताजिया विसर्जन हुने पवित्र स्थान हो। यसै ठाउँमा कक्षा चलाउनु स्थान अनुकूल होइन,” भन्नुभयो।
उता, नेपालगञ्ज उपमहानगरपालिकाले भने यसबारे आधिकारिक जानकारी पाउन ढिलाइ भएको स्वीकार गरेको छ। उपमहानगरपालिकाका सूचना अधिकारी लोकबहादुर शाहीले भन्नुभयो“अनुमति बिना मदरसा सञ्चालन भइरहेको गुनासो आएको छ। बालबालिकाको भविष्य जोखिममा पर्ने कुनै क्रियाकलाप सह्य हुँदैन। अब छानबिन गरी आवश्यक प्रक्रिया अघि बढाइनेछ।”
मुस्लिम समुदायमा धार्मिक शिक्षा महत्त्वपूर्ण मानिन्छ। तर दर्ता, मान्यता र शैक्षिक सुरक्षा सुनिश्चित नगरी यस्ता मदरसाहरू सञ्चालन हुँदा एकातिर बालबालिकाको भविष्य अन्योलमा पर्छ भने अर्कोतर्फ राज्यका कानुनी प्रावधानको उल्लङ्घन हुन्छ। शिक्षा क्षेत्रमा अनुगमन कमजोर हुँदा यस्तो अवस्था दोहोरिइरहने जोखिम बढ्दै गएको सरोकारवालाको बुझाइ छ।
समुदायका जिम्मेवार व्यक्तिहरूले दर्ता बिना सञ्चालित कक्षा तत्काल बन्द गराई नजिकैका दर्ता भएका मदरसासँग समन्वय गर्दै सुरक्षित, व्यवस्थित र बालमैत्री वातावरणमा अध्ययनको व्यवस्था मिलाउन स्थानीय सरकारसँग आग्रह गरेका छन्।
धार्मिक आस्थाको सम्मान, कानुनी शासनको पालना र बालबालिकाको शिक्षा–सुरक्षाको सुनिश्चितता—तीनै पक्षको सन्तुलन खोजिएको यो मुद्दा अब उपमहानगरपालिकाले लिने निर्णयमा निर्भर छ।








प्रतिक्रिया राख्नुहोस्