तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन र सामाजिक विकास कार्यालयको एकिकृत सेवा

लकोट,बागलुङ । गण्डकी प्रदेश सरकारअन्तर्गतका दुई कार्यालयले बागलुङ सदरमुकामबाट एकिकृत सेवा दिन थालेका छन् । प्रदेश सरकारको निर्णय बमोजिम दुई कार्यालय एकै ठाउँमा गाभिएर एकिकृत सेवा कार्यालयको रुपमा सञ्चालन गरिएको छ । 

प्रदेश सरकार मातहतमा रहेको उद्योग तथा पर्यटन कार्यालय र सामाजिक विकास कार्यालय गाभिएपश्चात् एकिकृत रुपमा सेवा कार्यालयको रुपमा सञ्चालन गरिएको छ । एकिकृत कार्यालय साबिकको उद्योग पर्यटन कार्यालयबाट सञ्चालन गरिएको कार्यालय प्रमुख पारसिंङ थापाले जानकारी दिनुभयो ।

कार्यालयको बुधबार प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले औपचारिक शुभारम्भ गर्नुभएको थियो । गुरुङले सेवा लिन आएका सेवाग्राहीको उद्योग दर्ता तथा नवीकरणको सिफारिस प्रदान गरेर सेवा सञ्चालन गर्नुभएको थियो । प्रदेश सरकारले मितव्ययिता कायम  र सेवा प्रवाहलाई प्रभावकारी बनाउनका निम्ती कार्यालय गाभेर एकिकृत गरेको हो । 

एकिकृत सेवा कार्यालयले उद्योग, पर्यटन तर्फ दर्ता नवीकरण, तालिम सञ्चालन पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण लगायतका कार्य गर्ने छभने सामाजिक विकास तर्फबाट लक्षित वर्गका कार्यक्रम सञ्चालन र विद्यालय तथा मठमन्दिर लगायतका क्षेत्रको पूर्वाधार निर्माणका काम हुनेछन् । हाल साबिकको उद्योग पर्यटन कार्यालयबाट मुख्य कामकाज सञ्चालन गरिएता पनि साबिकको सामाजिक विकास कार्यालयमा सामाजिक विकास तथा शिक्षा शाखा सञ्चालन गरिएको कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो ।

कार्यालय एउटै भए पनि प्रदेश मन्त्रालय भने दुई रहेका छन् ।  प्रदेश सरकार उद्योग पर्यटन मन्त्रालय र सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय रहनेछ । गत साउनमा प्रदेश सरकारले विभिन्न सात वटा निर्देशनालय खारेज गर्ने र ३२ कार्यालयलाई एकापसमा गाभेर १७ वटामा सीमित गर्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button