केन्द्रको तालिका अनुसार भक्तपुर कांग्रेसको अधिवेशन तयारी सुरु
भक्तपुर । नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले यही पुस २६ गते देखि २८ गते सम्म हुने पार्टीको १५औँ महाधिवेशनको निर्णयको स्वागत गर्दै तयारी सुरु गरेको छ ।

कांग्रेसको केन्द्रीय समितिले १५ औँ महाधिवेशनको कार्यतालिका ल्याएसँगै भक्तपुर कांग्रेस समितिले तयारी सुरु गरेको हो ।
सल्लाघारीस्थित जिल्ला पार्टी कार्यालयमा सभापति दुर्लभ थापाको अध्यक्षतामा सम्पन्न बैठकले केन्द्रको निर्देशअनुसार नयाँ क्रियाशील सदस्यता फारम मङ्सिर १५ भित्र बुझाउन सबै क्षेत्रीय तथा नगर समितिलाई निर्देशन दिएको छ ।
बैठकले केन्द्रीय महाधिवेशनले बनाएको कार्यतालिका अनुसार समयमा काम सक्न मातहतको पार्टी संरचनालाई निर्देशन दिइएको हो ।
सभापति थापाले मङ्सिर १५ गतेभित्र क्रियाशील सदस्यता टुङ्ग्याउन निर्देशन दिएको जानकारी दिँदै भक्तपुरमा पुराना र नयाँ गरि ११ हजार क्रियाशील सदस्य हुने र त्यस मध्ये २५ प्रतिशतको नवीकरण गर्न बाँकी रहेको बताउनुभयो ।
१३ औँ र १४ औँ महाधिवेशनमा ६० प्रतिशत वडागत अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको स्मरण गर्दै भक्तपुर सभापति थापाले सर्वसम्मत नेतृत्व चयन प्रक्रियालाई पहिलो प्राथमिकतामा राखिने बताउनुभयो ।
जिल्ला नेतृत्वका लागि सर्वसम्मत चयन गर्ने प्रयास आफ्नो हुने सभापति थापाले बताउनुभयो ।थापा दुई पटक भक्तपुरको सभापति बनेकाले विधान अनुसार दुई कार्यकाल भन्दा बढी सभापति हुन नपाउने व्यवस्था छ ।
पार्टीको उक्त बैठकमा जिल्ला पदाधिकारी, सदस्यहरू, केन्द्रीय सदस्य रमा कोइराला पौडेल, पूर्व सभापति, प्रदेश सदस्य, क्षेत्रीय सभापति तथा प्रदेश सभा क्षेत्र, नगर लगायत भातृ–संस्थाका प्रतिनिधिसहित नेताको उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्