तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदबाट राजीनामा

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ । मधेश प्रदेश सभा बैठकमा विश्वासको मत लिने सम्बन्धमा प्रस्ताव पेश गर्ने क्रममा रोष्टमबाट आजैको मितिदेखि लागु हुने गरि उहाँले राजीनामाको घोषणा गर्नुभयो । 

बहुमतका लागि ५४ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक रहेकोमा मुख्यमन्त्रीको पक्षमा नेकपा एमालेका २४ जना, नेपाल संघीय समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका १/१ गरि २६ जना प्रदेशसभा सदस्यको मात्र समर्थन रहेको र बहुमत आउने अवस्था नदेखेपछि उहाँले राजीनामा दिने घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री यादवले सम्बोधन गरिरहँदा बाँकी सात दलले उठेर प्रदेश सभाको बैठक बहिष्कार गरेका थिए । 

तत्कालीन मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले गत कात्तिक २२ मा विश्वासको मत लिने क्रममा विश्वासको मत पाउने अवस्था नदेखेपछि राजीनामा दिएपछि तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । भण्डारीले मुख्यमन्त्री यादवलाई कात्तिक २४ गते महोत्तरीको बर्दिबासस्थित एक रिसोर्टमा शपथग्रहण गराउनुभएको थियो ।

यस अघि मधेश प्रदेश सभामा विश्वासका मत लिनका लागि सम्बोधन गर्दै मुख्यमन्त्री यादवले २२ दिनको अवधिमा गरेको सङ्घर्ष तथा सरकारको निर्णयका विषयमा जानकारी दिनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button