तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कार्कीद्वारा जेनजी आन्दोलनका अगुवाहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज जेनजी आन्दोलनका अगुवा प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। त्यस अवसरमा सरकार र आन्दोलनकारीबिच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रूप दिने विषयमा छलफल भएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जेनजी प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्ने काम चाँडो टुङ्गो लगाउन आग्रह गर्नुभयो। सरकारी अधिकारीहरुले जेनजीका तर्फबाट प्राप्त दस्ताबेज अध्ययन गरी अन्तिम रूप दिने क्रममै रहेको बताउनुभएको थियो। प्रधानमन्त्री कार्कीले यो विषय चाँडो टुङ्ग्याउन निर्देशन दिनुभयो।

उहाँले भन्नुभयो, ‘अब यो विषय धेरै लम्ब्याउनुहुँदैन। आज सकिन्छ भने आजै, आज नभए भोलि शनिवारको दिन समेत काम गर्नुहोस्। पर्सि आइतबार दिनभर लागे लागोस्, जेजे हेर्नुपर्छ, हेर्नुहोस्। सोमबारभित्रमा अन्तिम रूप दिइएको हुनुपर्छ। अब धेरै दिन कुर्न सकिँदैन। हस्ताक्षर गरेकै कारणले केही बेहोर्नुपरे म बेहोरौँला। मेरो सिङ्गो मन्त्रिपरिषद्ले त्यसको जिम्मेवारी लिन्छ। यो राजनीतिक दस्ताबेज हो। कर्मचारी प्रशासकहरूले चिन्ता लिनुपर्दैन।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button