सिञ्जा गाउँपालिकाले कृषि कर्जामा अनुदान दिने
जुम्ला । सिञ्जा गाउँपालिकाले कृषि व्यवसायमा संलग्न हुन चाहने स्थानीयलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने अभियानअन्तर्गत सहुलियत ब्याजदरमा ऋण प्रदान गर्ने भएको छ ।
सो पालिकाले राष्ट्रिय वाणिज्य बैङ्कसँगको सहकार्यमा आफ्नो पालिकाका बेरोजगार तथा कृषि उद्यमीलाई सरल कृषि अनुदान सहयोग कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
स्थानीय कृषक समूह तथा कृषि व्यवसायसँग सम्बद्ध सहकारी संस्थालाई ब्याजदरमा अनुदान सहयोगको व्यवस्थासहित कृषि पेसामा आकर्षित गर्न लागेको पालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।
अनुदान सहयोग कार्यक्रमअन्तर्गत कृषि व्यवसायमा संलग्न १८ देखि ६५ वर्ष उमेरका नेपाली नागरिक वा कानुनी रूपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न स्थानीय फर्म वा कम्पनीले गाउँपालिकाको सिफारिससहित कर्जाको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको अध्यक्ष धितालले स्पष्ट गर्नुभयो ।
संशोधित कृषि कर्जा निर्देशिका, २०६९ बमोजिम बैंकले पालिकाको सहयोगमा सहुलियत दरमा प्रदान गर्ने रकम आवधिक र चालु पुँजी दुवै प्रकृतिको हुने तथा ग्रेस अवधिसहित अधिकतम १० वर्षका लागि प्रदान गरिने व्यवस्था रहेको छ । सो गाउँपालिकाले आफ्नो कोषबाट ऋणीलाई एक प्रतिशत ब्याज अनुदान दिने गाउँपालिका अध्यक्ष धितालले जानकारी दिनुभयो ।
यो कर्जा लगानीपछि कृषि उपजको व्यावसायिक उत्पादन भई स्वरोजगारमा वृद्धि हुने, आयआर्जन बढ्ने, आयात प्रतिस्थापन हुने तथा स्थानीय जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको गाउँपालिकाका प्रवक्ता तीर्थ वडाको भनाइ छ ।
कार्यक्रममा सहभागी नागरिकताको प्रतिलिपि, सम्बन्धित वडा र गाउँपालिकाको सिफारिस, व्यावसायिक योजना तथा जग्गाधनी प्रमाणपत्रसहित अन्य आवश्यक कागजातहरू उपलब्ध गराउनुपर्ने सिञ्जा गाउँपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्