रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ सुरु

रसुवा । रसुवागढीस्थित भन्सार कार्यालयसँगको सुख्खा बन्दरगाहको सफा गर्ने काम सुरु भएको छ ।
गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले बन्दरगाह परिसरमा थुपारेको ढुङ्गा, बालुवा, फलामका रड, काठ पातलगायतका वस्तु हटाउने काम सुरु भएको हो ।
नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि बेलीब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेँसँगै सुख्खा बन्दरगाह सफा गर्ने काम सुर भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
सफाइ गर्ने जिम्मेवारी पाएको ‘नेपाल इन्टरमोडल टान्सपोर्ट’का प्रबन्ध निर्देशक आशीष गजुरेलका अनुसार पहिलो चरणमा ७५ वटा मालवाहक कन्टेनर पार्किङका लागि सफा गर्ने काम सुरु भइसकेको र लगत्तै दोस्रो चरणमा थप ७५ वटा मालवाहक कन्टेर पार्किङका लागि पनि ठाउँ बनाइने गरी प्रक्रिया अघि बढेको छ ।
रसुवागढी नाकास्थित मितेरी पुल बगेपछि लामो समयदेखि ठप्प भएको सामान ढुवानीको कामको चापलाई दृष्टिगत गरी चरणबद्ध रूपमा कुल १५० वटा कन्टेनर पार्किङ गर्न सक्ने गरी सुख्खा बन्दरगाह सफा गर्न लागेको प्रबन्ध निर्देशक गजुरेलले स्पष्ट गर्नुभयो ।
बाढीले रसुवागढी भन्सारको सुख्खा बन्दरगाहमा ६० प्रतिशत नोक्सान पुर्याएको जानकारी दिँदै प्रबन्ध निर्देशक गजुरेलले यही हिउँदभित्रै सफाइको सक्ने बताउनुभयो ।
सुख्खा बन्दरगाहको सफाइ प्रक्रिया अघि बढेको बताउँदै रसुवागढीका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराइले बिग्रिएको सडक मर्मत सम्भारका लागि सडक सुधार आयोजनालाई अनुरोध गरिसकिएको जानकारी दिनुभयो ।
बाढी पहिरोबाट क्षतिग्रस्त स्याफ्रुबेँसी–रसुवागढी सडक सुधार कार्य सामान्य रूपमा मात्र भएका २० टन सामान बोक्ने मालवाहक कन्टेनर डिब्बा चल्ने वातावरण तयार गरिदिन ढुवानी व्यवसायीले माग गरेका छन् ।
यसैगरी ढुवानी व्यवसायी एवम् स्थानीयले सो सडकमार्गस्थित ठाडोखोलाले घटृेखोला पुलको जग खोतलेर जीर्ण अवस्थामा पुर्याएकाले मालवाहक कन्टेनर चलाउन जोखिम रहेको भन्दै तत्काल बिग्रिएको सडक तथा पुलको यथाशक्य छिटो मर्मत सम्भार गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्