तपाईँ सुन्दै हुनुहुन्छः

पोखराको चुरुङ्गामा दोस्रो दाँई महोत्सव हुने

पोखरा । “पोखरा सबै मौसमका लागि आकर्षक गन्तव्य” भन्ने मूल नारासहित आउँदो शनिबार (मङ्सिर १३ गते) पोखराको चुरुङ्गामा दोस्रो संस्करण दाँई महोत्सव २०८२ हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा शनिबार हुने उक्त महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक एवं दर्शक तथा ददेराहरुको समेत महोत्सवमा सहभागी गराउने अन्तिम तयारी भएको बिहीबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

कृषिप्रधान देश नेपाली समाजको परम्परागत कृषि प्रणालीको प्रवद्र्धन तथा नयाँ पुस्तालाई खेतीपातीको मौलिक ज्ञान हस्तान्तरण गर्ने उद्देश्य सहित उक्त महोत्सव यसपाली पर्यटकीय र कृषि उत्पादनका दृष्टिले महत्वपूर्ण रहेको चुरुङ्गामा उक्त महोत्सवको तयारी गरिएको परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनु भयो ।

पोखरामा तीव्र सहरीकरणका कारण खेतीयोग्य जमिन मासिँदै गएको र कृषिप्रति युवापुस्ताको आकर्षण कमजोर बन्दै गएको पृष्ठभूमिमा दाँई महोत्सवले कृषकको परम्परागत परिश्रम, धान उत्पादनको सांस्कृतिक महत्व र कृषि पर्यटनको सम्भावनालाई पुनः स्मरण गराउने उहाँले विश्वास व्यक्त गर्नुभयो । महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई नेपालको मौलिक कृषि पहिचान नजिकबाट अवलोकन गराउने लक्ष्य लिएको आयोजकले जनाएको छ ।

महोत्सवमा करिब १ हजार पर्यटक तथा स्थानीयको उपस्थिति हुने अपेक्षा गरिएको छ । महोत्सवमा सहभागी हुनको लागि दुई वटा निःशुल्क बस सेवा समेत व्यवस्था गरिएको परिषद्का महासचिव जीवनराज सापकोटाले बताउनु भयो ।

दाँई महोत्सवले कृषकलाई सम्मान, कृषि पेसाप्रति उत्प्रेरणा र परम्परागत प्रविधिको प्रदर्शन मार्फत कृषि पर्यटनको अवधारणालाई व्यवहारमै उतार्ने भएको महोत्सव संयोजक हरि भुजेलले बताउनु भयो ।

“धान मुख्य खाद्यबाली भएकाले त्यसको उत्पादनदेखि भित्र्याउने प्रक्रिया आफैँमा नेपाली पहिचान भएको उहाँको भनाई थियो । चुरुङ्गा टोल विकास संस्थाका अध्यक्ष दयाराम गौतमले सो क्षेत्रमा भिनुवा जातको धान उत्पादनका लागि परिचित रहेको बताउनु भयो । परम्परागत धानहरू हाल लोप हुँदै गरेको उहाँको भनाई थियो । पछिल्ला वर्ष कृषि पर्यटन, अर्ग्यानिक उत्पादन र गाउँको प्राकृतिक सौन्दर्यका कारण चुरुङ्गा आकर्षक गन्तव्य बन्दै गएको गौतमको भनाई छ ।

महोत्सवमा विभिन्न प्रतियोगिता तथा गतिविधि हुने भएको छ । उत्कृष्ट गोरु पालक प्रतियोगिता हुने भएको छ । धेरै धान उत्पादन गर्ने कृषक सम्मान, धान चुट्ने दँदेरा प्रतियोगिता, परालको भारी बोक्ने प्रतियोगिता, गुन्द्री बुन्ने प्रतियोगिता, सहभागी दँदेरीलाई परम्परागत टोपी वितरण, अतिथिलाई स्थानीय उत्पादनको उपहार लगायतका आकषर्णहरु रहेका छन् ।

दाँई महोत्सवले पर्यटकलाई ग्रामीण जीवन, कृषि संस्कार तथा स्थानीय उत्पादनको प्रत्यक्ष अनुभव गराउँदै पोखरा भ्रमण वर्षलाई समेत प्रबद्र्धन गर्ने भएको परिषद्ले  विश्वास व्यक्त गरेको छ ।

नेपाल पर्यटन बोर्ड गण्डकीका वरिष्ठ निर्देशक तथा प्रमुख मणि राज लामिछानेले पोखरा र पोखरा आसपास क्षेत्रमा हुने यस्ता मेला महोत्सवले पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गर्दै पोखरामा मात्र केन्द्रित नभई पोखरा आसपास क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न आफूहरू लागेको जनाउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button