तपाईँ सुन्दै हुनुहुन्छः

विराटनगरबाट सवारी चालक अनुमति पत्र सम्बन्धी अवरुद्ध सेवा आजबाट सुचारु 

विराटनगर । यातायात व्यवस्था कार्यालय विराटनगरको सवारी चालक अनुमति पत्र सम्बन्धी अवरुद्ध  सेवा आजबाट  सुचारु भएको छ । 

जेन्जी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागको सरोवर डाटा प्रणालीमा क्षति पुगेपछि भदौ २४ गतेदेखि अवरुद्ध कार्यालयको  सेवा अढाई महिनापछि सुचारु भएको हो ।

विभागको सरोवर सुचारु भएपछि विद्युतीय सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा कार्यालयबाट सुरु भएको यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका सूचना अधिकारी गिरिराज पराजुलीले जानकारी दिनुभयो । 

सेवा सुचारु भएपछि सवारी चालक अनुमति पत्रका लागि भोली बिहीबारबाट लिखित तथा ट्रायल परीक्षा सुरु गर्न लागिएको उहाँले बताउनुभयो ।

कार्यालयले भदौ ३० गतेदेखि सवारी दर्ता, सवारी दर्ता खारेज, दर्ता खारेज, नामसारी तथा सवारी लगत कटा जस्ता सेवा सुरु गरे पनि सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा भने सञ्चालनमा आउन सकेको थिएन ।

जेन्जी आन्दोलनको क्रममा विराटनगरस्थित कार्यालयमा कुनै प्रकारको क्षति नभए पनि विभागको सरबर प्रणालीमा भएको क्षतिका कारण यहाँबाट सवारी चालन अनुमति पत्र सम्बन्धी सेवा सञ्चालनमा ल्याउन नसकेको सो कार्यालयका प्रमुख गोपाल दाहालले बताउनुभयो ।  

कार्यालयले छैठ पर्वपछि सवारी चालक अनुमति पत्र नवीकरण सेवा सुरु गरिसकेको उहाँले बताउनुभयो ।

लामो समयपछि सेवा सुचारु भएपछि कार्यालयमा सेवाग्राहीको भिड लागेको छ ।  कार्यालयमा सबै प्रकारको सेवा लिन दैनिक डेढदेखि दुई सय जना सेवाग्राही आउने गरेकोमा त्यसमध्ये एक पटकमा ६० देखि ७० जनाले सवारी चालक अनुमति पत्रका लागि लिखित तथा ट्रायल परीक्षा दिने गरेका छन् । कार्यालयले हप्तामा तिन पटक सवारी चालक अनुमति पत्रका लागि परीक्षा लिँदै आएको  छ ।

कार्यालयबाट दुई तथा चार पाङग्रे सवारी साधनसहित सबै प्रकारको सवारी साधनका लागि सवारी चालक अनुमति पत्र उपलब्ध हुने गरेको छ ।

२०७२ सालमा स्थापना भएको सो कार्यालयले २०७९ साल साउन महिना देखि सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा सुचारु गरेको हो । सेवा अवरुद्ध हुँदा मार्कामा परेका सेवाग्राहीलाई सेवा सुचारु भएपछि सेवा लिन सहज भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button