तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशमा बेरोजगार युवालाई मासिक दुई हजार भत्ता

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा स्नातक उत्तीर्ण गरेका बेरोजगार युवालाई मासिक बेरोजगार भत्ता दिने निर्णय गरिएको जानकारी दिनुभएको छ ।

प्रथम मन्त्रिपरिषद् बैठकको निर्णय आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै उहाँले प्रदेशमा स्नातक उत्तीर्ण गरेका बेरोजगार युवालाई मासिक रु दुई हजारका दरले बेरोजगार भत्ता दिने निर्णय गरिएको बताउनुभयो ।

प्रदेश सरकारले १८ वर्षदेखि ३५ वर्ष उमेरसम्मका स्नातक उत्तीर्ण गरी कुनै रोजगारमा नरहेका युवालाई जीवन निर्वाहबापत मासिक रु दुई हजारका दरले भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । प्रदेशमा स्नातक उत्तीर्ण गरेका करिब एक लाख ५० हजार बेरोजगार युवा छन् ।

बैठकमा सरकारले खडेरी र डुबानबाट धानबालीमा क्षति बेहोरेका किसानलाई प्रतिकट्ठा रु एक हजार ५०० का दरले राहत उपलब्ध गराउने निर्णय भएको छ । 

किसानलाई राहत दिँदा रु ३६ करोड र युवालाई बेरोजगार भत्ता दिँदा रु ३५ करोड खर्च हुने अनुमान गरिएको मुख्यमन्त्री यादवले जानकारी दिनुभयो । किसानलाई राहतस्वरूप रु एक हजार ५०० प्रतिकट्ठा राहतस्वरूप उपलब्ध गराउने प्रक्रियामा रहेको उहाँले बताउनुभयो । 

यस वर्ष लामो समय खडेरीको मारमा परेका मधेस प्रदेशका किसानहरू गत असोजको अविरल वर्षाबाट पुनः डुबान पीडित भएका थिए । मनसुन अवधिमा लामो समय खडेरी परेपछि प्रदेश सरकारले मधेसका जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button