तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै हुन्छ : मन्त्री खरेल

फाइल तस्बिर

चरिकोट । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले आगामी फागुन २१ मै प्रतिनिधिसभा सदस्य निर्वाचन हुने भन्दै चुनावको माहोल बनाउन यहाँका कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ ।

जिल्ला समन्वय समितिको सभा हलमा आज भएको कार्यक्रममा उहाँले सरकारले चुनावका लागि वातावरण बनाइरहेकाले चुनाव हुँदैन कि भनेर फैलाइने भ्रमलाई चिर्ने गरी काम गर्न निर्देशन दिनुभएको हो । 

मन्त्री खरेलले भन्नुभयो, “चुनावका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी भइरहेको छ । आवश्यक स्रोतसाधनदेखि जनशक्ति जुटाउने काम भइरहेका छन् । त्यसैले भ्रम र कसैको दबाब एवं प्रभावमा नपरी मतदान केन्द्रमा गई मत दिन वातावरण बनाउन लाग्नुस् । यसमा सबैको सहयोग आवश्यक छ ।” 

उहाँले फागुन २१ गते चुनाव होला र ! भनेर कुनै शङ्का नगर्न कर्मचारी, राजनीतिक दल, सुरक्षा निकाय र निर्वाचन कार्यालयहरूलाई आग्रह गर्नुभयो । मन्त्री खरेलले जनताले कुनै गुनासो नगर्ने गरी नियमित सेवा प्रवाहमा समेत ध्यान दिन सबै कार्यालय प्रमुखलाई आग्रह गर्नुभयो । 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले मतदान हुने स्थलको अनुगमन गरी अवस्था बुझ्ने काम निरन्तर भइरहेको बताउनुभयो । उहाँले जिल्लामा हाल  एक लाख ६३ हजार १३३ जना मतदाता रहेका र विगतमा ९४ वटा मतदान केन्द्र रहेका जानकारी गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button