जनकपुरधाममा माछा, मासु तथा मदिराको बिक्री निषेध
जनकपुरधाम । जारी श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवको चौथो दिन मध्य आज राति १२ बजेपछि जनकपुरधाममा माछा, मासु तथा मदिराको बिक्री वितरण तथा सेवनमा निषेध गरिएको छ ।
जिल्ला सुरक्षा समिति धनुषाको निर्णय अनुसार जनकपुरधामको अन्तरगृह परिक्रमा तथा परिक्रमा आसपासका क्षेत्रमा माछा, मासु तथा मदिराको बिक्री वितरण तथा सेवन पूर्ण रुपमा निषेध गरिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले जानकारी दिनुभयो ।
जनकपुरधामको सबै भन्दा ठूलो धार्मिक तथा सांस्कृतिक महत्वको श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवको मुख्य दिन ९ गते भए पनि आज ७ गते आइतबार राति १२ बजेदेखि १० गते मध्यराति १२ बजेसम्मका लागि पशुपक्षीको काटमार निषेध गर्ने निर्णय भएको सूचना मार्फत सहायक प्रमुख जिल्ला अधिकारीले जनाउनुभएको छ ।
नेपाल भारतको लाखौँ तीर्थयात्री आउने भएकाले यस वर्ष पनि माछा, मासु, मदिराको बिक्री वितरण तथा सेवनमा निषेध गरेको छ । यस सूचनाको कसैले उल्लङ्घन गरेको पाइए प्रचलित कानून अनुसार कारबाही हुने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्