तपाईँ सुन्दै हुनुहुन्छः

बालश्रम नियन्त्रण र व्यवस्थापनका लागि मधेस प्रदेशमा विशेष कार्यदल गठन

जनकपुरधाम । मधेस प्रदेशमा बढिरहेको बालश्रम नियन्त्रण र व्यवस्थापनका लागि विशेष कार्यदल गठन गरिएको छ। 

राष्ट्रिय बाल अधिकार परिषद् मधेस प्रदेशको संयोजनमा बनेको कार्यदलमा बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैर–सरकारी संस्थाको प्रतिनिधित्व रहनेछ।

जनकपुरधाममा भएको सरोकारवालाको बैठकले श्रम तथा रोजगार कार्यालय, स्थानीय तह, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ, आसमान नेपालसहित मानवअधिकारसम्बन्धी संस्थाहरूलाई समितिमा समावेश गर्ने निर्णय गरेको हो।

राष्ट्रिय बाल अधिकार परिषद् मधेस प्रदेशका समन्वय अधिकारी सञ्जीव कुमार महतोका अनुसार कार्यदलले जोखिमपूर्ण श्रममा संलग्न बालबालिकाको उद्धार, आश्रय तथा पुनः स्थापनामा केन्द्रित भएर काम गर्नेछ। हाल मधेस प्रदेशका विभिन्न जिल्लामा ११।५ प्रतिशत बालश्रम रहेको तथ्याङ्क बैठकमा प्रस्तुत गरिएको थियो।

प्रदेशभर इँटा भट्टा, होटल, टेन्टहाउस तथा यातायात क्षेत्र बालश्रमलाई सबैभन्दा जोखिमपूर्ण क्षेत्रका रूपमा पहिचान गरिएको छ। पछिल्लो समय बालहेल्पलाइनमा प्राप्त गुनासोका आधारमा ५७ बालबालिकालाई उद्धार गरी पुनः स्थापना गरिएको समितिले जनाएको छ।

श्रम तथा रोजगार कार्यालय जनकपुरधामका प्रमुख दिवाकर भुजेलले सप्तरीदेखि सर्लाहीसम्मको क्षेत्रलाई समेटेर बालश्रम ऐन २०५६ विपरीत काम गराउने व्यक्ति तथा संस्थामाथि कानुनी कारबाही गर्ने अधिकार कार्यालयलाई प्राप्त भएको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले नयाँ कार्यदलले प्रभावकारी ढङ्गले काम गर्ने विश्वास व्यक्त गर्दै यसले प्रदेशमा बालश्रमको दर घटाउने अपेक्षा राख्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button