तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल बैङ्क लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ

डोल्पा । नेपाल बैङ्क लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटिएम’ सेवा थालनी गरेको छ । बैकको ८९ औँ वार्षिकोत्सवका अवसरमा आज दुनैमा आयोजित कार्यक्रममा  बैंकका कर्णाली प्रदेश प्रमुख दिनेशप्रसाद पौडेलले सो सेवाको शुभारम्भ गर्नुहुँदै स्थानीय सेवाग्राही र आन्तरिक पर्यटकलाई बैङ्किङ सेवा सहज होस् भन्ने ध्येयले एटिएम सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “सूचना प्रविधिका युगमा डोल्पाका नागरिक र काठमाडौँका नागरिकले समान सेवा पाउनुपर्छ भन्ने बैङ्कको उद्देश्य रहेको छ ।  ” डोल्पा शाखाले २०३२ सालदेखि सेवा प्रदान गर्दै आएको छ ।  

सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेले डोल्पाका बैङ्कमा एटिएम छैन भन्ने युगको अन्त्य भएको भनाइ राख्नुभयो ।  

ठूलीभेरी नगरपालिका– ३ का वडाध्यक्ष भक्तबहादुर भण्डारी, उद्योग वाणिज्य सङ्घ डोल्पाका अध्यक्ष लालीमान बुढा लगायतले नेपाल बैङ्क लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ गरेकामा  धन्यवाद व्यक्त गर्नुभयो । 

उहाँहरूले आगामी दिनमा घरजग्गा धितो राखेर सहजै व्यवसायको लागि ऋण लिने व्यवस्था गर्न माग गरेका छन् । बैङ्कका शाखा प्रमुख भवि भण्डारीले ग्राहकलार्ई  एटिएम कार्ड उपलब्ध गराउने जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button