तपाईँ सुन्दै हुनुहुन्छः

बाराको जितपुर सिमरामा कर्फ्यु

वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा स्थिति तनावपूर्ण हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले आज दिउँसो १२ः३० बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ । 

सिमरा विमानस्थल आसपास क्षेत्रमा जेनजी युवाहरूको प्रदर्शन र राजनीतिक दलसँग आवद्ध समूहबीच झडप बढ्दै गएपछि सुरक्षा जोखिम रोक्न कर्फ्यु लगाइएको बारा प्रशासनले जनाएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र ६(ख) बमोजिम आज २०८२-०८-०३ गते दिउँसो १२ः३० बजेदेखि बेलुका ८ः०० बजेसम्म कर्फ्यु लागू हुनेछ । कर्फ्यु अवधिभर तोकिएको क्षेत्रमा आवत–जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायत कुनै पनि गतिविधि पूर्णरूपमा निषेध गरिएको छ ।

स्थानीय प्रशासनले कर्फ्यु लागू क्षेत्रमा गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ–बायाँ ५०० मिटर क्षेत्रभित्र, तथा सिमरा विमानस्थल वरिपरि ५०० मिटर क्षेत्र रहेको छ । 

प्रशासनका अनुसार सरकारी तथा निजी सम्पत्तिमा क्षति हुन नदिन, सुरक्षाकर्मी र कर्मचारीको सुरक्षालाई प्राथमिकता दिँदै तथा परिस्थिति थप जटिल नबनोस् भन्ने उद्देश्यले कर्फ्यु आदेश जारी गरिएको जनाइएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–२ सिमरा चोकमा आज बिहान जेनजी युवा समूह र नेकपा (एमाले) कार्यकर्ताबिच झडप भएको थियो ।  बिहान करिब १०ः३० बजे एमाले महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेत बुद्ध एयरमार्फत सिमरा आइपुग्ने जानकारी सार्वजनिक भएपछि जेनजी समूहले विरोध प्रदर्शन सुरु गरेको थियो । सो क्रममा प्रदर्शनकारी र एमाले कार्यकर्ताहरू बिच झडप भएको थियो ।

स्थानीयका अनुसार झडपका क्रममा एमालेले तयार गरेको स्वागत द्वार जेनजी समूहले च्यातेर भत्काइदिएका छन् । घटनापछि सिमरा विमानस्थल क्षेत्रदेखि मुख्य चोकसम्म सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button