अछाममा ९ सय ४६ मतदाता थपिए
अछाम । जिल्ला निर्वाचन कार्यालय अछाममा ९ सय ४६ मतदाता थपिएका छन् । पुरुष ६ सय २ र महिला ३ सय ४४ गरि कुल ९सय ४६ नयाँ मतदाता थपिएका हुन ।
निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष पुगेका नेपाली नागरिकता प्राप्त व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेपछि हालसम्म ९ सय ४६ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयका निमित्त सूचना अधिकारी शरस बुढाले जानकारी दिनुभयो । असोज १० गते देखी मङ्सिर २० गते सम्ममा सो सङ्ख्यामा मतदाता थपिएका हुन । पछिल्ला केही दिन यता दैनिक ५० को हाराहारीमा जिल्लाका विभिन्न क्षेत्रबाट मतदाता नामावलीमा दर्ता हुन आइरहेको सूचना अधिकारी बुढाले बताउनुभयो ।
मतदाता परिचयपत्रका लागि अनलाइन प्रणालीबाट विवरण भर्न पाउने र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकको आधारमा मतदाता परिचयपत्रमा लिङ्क गर्न मिल्ने व्यवस्था अनुरुप उक्त प्रक्रियाबाट थपिने सङ्ख्या ५ गते पछि मात्र निर्वाचन कार्यालयको तथ्याङ्कमा समायोजन हुने भएकाले सो सङ्ख्या अझ बढ्ने उहाँले बताउनुभयो । पहाडी जिल्लाबाट बसाइसराइ गर्नेको सङ्ख्या बढिरहेको समयमा यो सङ्ख्यामा मतदाता थपिनु उत्साहजनक रहेको उहाँको भनाई छ ।

९ सय ४६ मतदाता थपिए संगैं अछामकाे हाल सम्म कुल मतदाताको सङ्ख्या १ लाख ६१ हजार ३ सय ६७ पुगेको छ । जसमा महिलाको सङ्ख्या ८२ हजार ४० र पुरुषका सङ्ख्या ७९ हजार ३ सय २५ र अन्य २ जना रहेको सूचना अधिकारी बुढाले बताउनुभयो । आयोगले मतदाता नामावली सङ्कलन यही महिनाको ५ गतेसम्मलाई कायम गरेको छ । अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाता परिचयपत्र बनाउन निर्वाचन आयोगले ५ दिन म्याद गरेपछि सुरुवाती दिन भन्दा पछिल्लो एक हप्ता देखी अत्यधिक भिडभाड बढेको जिल्ला निर्वाचन कार्यालय अछामका कम्प्युटर अपरेटर दिलीप रानाले बताउनुभयो ।
मतदाता नामावली दर्ता सँगै त्रुटि सच्याउने र मतदाता केन्द्र परिवर्तन गर्ने कार्य समेत भइरहेको अपरेटर रानाले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालय अछाममा मतदाता नामावलीमा नाम दर्ता गर्न आउनु भएका ढकारी गाउँपालिका स्थायी ठेगाना भएका प्रेम थापाले कार्यालय बाट छिटोछरितो सेवा प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

यस्तै अर्को सेवा ग्राही रामारोशन गाउँपालिकाका प्रकाश रोकायाले मतदाता नामावलीमा नाम दर्ता गरे सँगै निर्वाचनमा भाग लिन उत्सुक रहेको बताउनु भयो । निर्वाचन कार्यालयमा नयाँ मतदाता परिचयपत्रका लागि आउनेहरूमा अधिकांश नयाँ पुस्ताका युवाहरू बढी मात्रामा रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्