तपाईँ सुन्दै हुनुहुन्छः

चैनपुर–ताक्लाकोट सडकखण्डको ४२ किलोमिटर बाटो खुल्यो

बझाङ। नेपाल सरकारले सेती करिडोर अन्तर्गत सञ्चालनमा ल्याएको कैलालीको टिकापुरदेखि चीनको ताक्लाकोट जोड्ने सेती राजमार्ग अन्तर्गत बझाङ क्षेत्रको उत्तरी भाग पर्ने चैनपुर–ताक्लाकोट सडक खण्डमा हालसम्म ४२ किलोमिटर बाटो खुलेको छ।

सदरमुकाम चैनपुरको भोपुरदेखि सुरु गरिएको, तिब्बतको ताक्लाकोटसम्म पुग्ने ११७ किलोमिटर लामो यो सडक अहिले रुपातोला माथिको पाल्तीभीर क्षेत्रमा पुगेर सडक कटानको काम भइरहेको छ।

नागार्जुन निर्माण सेवाका इन्जिनियर नवीन देवका अनुसार हालसम्म पाल्तीभीरसम्म ४२ किलोमिटर ट्याक ओपन भइसकेको छ। आगामी फागुनसम्ममा थप करिब ३ किलोमिटर बाटो खोल्ने लक्ष्य रहेको उहाँले बताउनुभयो। २०७४/०७५ सालमा ठेक्का सम्झौता भएको यो सडक परियोजनाको म्याद पटक–पटक थपिँदै हाल फागुनमा सकिँदै छ।

यसपटक पाल्तीभीरसम्म बाटो खुलेपछि आउँदो वर्ष त्यहाँबाट धुलीसम्म ३३ किलोमिटर सडक खोल्ने योजना छ। यसले साइपाल गाउँपालिकाको धुली क्षेत्रका स्थानीयहरूलाई आवतजावतमा सहजता ल्याएको छ।

यो सडक खण्डको कुल ठेक्का मूल्य ८५ करोड ७८ लाख रुपैयाँ रहेको छ। रुपातोलादेखि मेसनरी वाल र ग्याबियन वाल निर्माणसँगै अगाडि बाटो खोल्ने काम भएको हो। हालसम्म रुपातोला–रुमैली खोला–किरकिट्टे–दुनीबन–चौधे–लामागाड हुँदै पाल्तीभीरसम्म बाटो खुलिसकेको छ।

निर्माण कम्पनीका प्रतिनिधि अनुप भट्ट र सन्तोष भट्टका अनुसार ठेक्कामा निश्चित दूरी नतोकिए पनि क्वान्टिटी (परिमाण) अनुसार काम भइरहेको छ। मुख्य ठेकेदार ईश्वरीदत्त भट्टको निधनका कारण केही समय काम ढिलो भए पनि अहिले पुनः सबै क्षेत्रमा नियमित रूपमा काम अघि बढिरहेको उनीहरूले बताउनुभयाे।

सडक क्षेत्रमा कडा चट्टान, हिमपात र बम–ब्लास्टिङ गर्नुपर्ने अवस्थाका कारण ढिलाइ भएको ठेकेदार पक्षले स्वीकृति जनाएको छ। ठेकेदार अनुप भट्टका अनुसार साइपालको धुली क्षेत्रमा जलविद्युत् परियोजना बन्ने भएकाले त्यसले पनि सडक निर्माणमा सहकार्य गर्ने सम्भावना बढाएको छ।

पाल्तीभीरदेखि धुलीसम्मको दूरी ३३ किलोमिटर, र धुलीबाट तिब्बतको ताक्लाकोट सीमा पुग्न ४२ किलोमिटर दूरी छ। स्वच्छन्द बानिया–नागार्जुन जेभीको जिम्मेवारीमा रहेको हालको काम सकिएपछि अर्को आर्थिक वर्षमा पाल्तीभीर–धुली खण्ड खोल्ने ठेक्का हुने सम्भावना रहेको चैनपुर–ताक्लाकोट सडक आयोजनाका इन्जिनियर विजय रानाले जानकारी दिए। उनका अनुसार धुलीसम्मको डीपीआर (परियोजना प्रतिवेदन) पनि तयार भइसकेको छ।

चैनपुरदेखि सुुनिकोटसम्म हाल पिसको काम भइरहेको छ। रुपातोला सम्म यातायात सुविधा पुगेको यो सडक धुली हुँदै ताक्लाकोटसम्म जोडिएपछि भारततर्फबाट मानसरोवर जान यो सबैभन्दा छोटो मार्ग हुने बताइएको छ।

सेती राजमार्गको निर्माण कार्य २०७३/०७४ सालदेखि सुरु भएको हो। यसको कुल अवधि २०८४/०८५ सम्म रहनेछ। कैलालीको टिकापुरदेखि अछाम, बाजुरा हुँदै चैनपुरसम्म २४२ किलोमिटर र चैनपुर–ताक्लाकोट ११७ किलोमिटर गरी कुल लम्बाइ ३५९ किलोमिटर छ।

हाल धनगढीबाट बझाङ आउँदा खोड्पे–बझाङ सडकमार्ग हुँदै चैनपुरसम्म पिच सडक पुगेको छ। अब चैनपुर–ताक्लाकोट सडक र सीमा नाका छिट्टै खोल्नुपर्ने माग स्थानीय बासिन्दाले गर्दै आएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button