वर्षाका कारण कोशी प्रदेशमा १२ हजार ४ सय हेक्टरभन्दा बढी धानबालीमा क्षति

विराटनगर । एक हप्ताअघि परेको निरन्तर वर्षाका कारण कोशी प्रदेशमा १२ हजार ४ सय हेक्टरभन्दा बढी धानबालीमा क्षति पुगेको छ ।
कोशी प्रदेशको १४ जिल्लामा यो वर्ष २ लाख ६८ हजार ७ सय ६५ हेक्टर क्षेत्रफल जग्गामा धान खेती लगाइएकोमा त्यसमध्ये वर्षाका कारण १२ हजार ४ सय ३२ हेक्टर धानवालीमा क्षति पुगेको कृषि निर्देशनालय विराटनगरले जनाएका छ ।
गत बिहीबार तथा शुक्रवार परेको निरन्तर वर्षाका कारण पहाडी जिल्लाहरूमा भन्दा तराईका जिल्लामा बढी क्षति भएको सो कार्यालयका सूचना अधिकारी पुर्णमाया गुरुङले बताउनुभयो । वर्षाका कारण झापामा ४ हजार ६ यस हेक्टर धानवालीमा क्षति पुगेको छ ।
त्यसैगरी, मोरङमा ३ हजार ४ सय २१ हेक्टर, सुनसरीमा २ हजार ८ सय ५१ हेक्टर धानबालीमा क्षति पुगेको सूचना अधिकारी गुरुङको भनाई छ । वर्षाका कारण सबैभन्दा कम सोलुखोम्वु जिल्लामा १५ हेक्छर धानबालीमा क्षति पुगेको छ । वर्षाका कारण कोशी प्रदेशमा २ अर्ब १ करोड ४३ लाख बराबरको धानवाली क्षति भएको सो कार्यालयको विवरणमा उल्लेख छ ।
यसरी पाकेको धानबालीमा क्षति पुगेपछि किसान निराश भएका छन् । काटेर भित्राउन लागेको अवस्थामा पाकेको धानबाली वर्षाका कारण डुबेर ढलेपछि किसान निराश भएका हुन ।
मल खादको अभाव तथा खडेरीका कारण जसोतसो गरी लगाएको धानबाली भित्राउने बेलामा वर्षाका कारण धान डुबेपछि आफूहरू निराश भएको मोरङ धनपालथान गाउँपालिका–६ का किसान रामासिश महत्ताको भनाई छ ।
सिँचाइका लागि मेसिन लगाएर रोपेको धान भित्राउने बेलामा क्षति पुग्दा आफूहरू मारमा परेको रंगेली नगरपालिका–२ का किसान देवराज राजवंशीको भनाई छ । धान काटने बेलामा सबै धान डुबाएपछि आफूहरू मारमा परेको उहाँको भनाई छ ।
यसरी दुख गरेको लगाएको धानबालीमा वर्षाले क्षति पुर्याएपछि सरकारले राहतको व्यवस्था गर्नुपर्ने किसानहरूको माग रहेको छ । तीनै तहको सरकारसँग राहतको व्यवस्था गर्न समेत किसानले आग्रह गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्