लगातारकाे वर्षाले रौतहटको जनजीवन प्रभावित
'धान भित्र्याउन नपाएर किसान चिन्तित'
रौतहट। लगातार परिरहेको झरीका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।

बुधबार रातिदेखि सुरु भएको वर्षा हालसम्म रोकिएको छैन । वर्षाका कारण जिल्लाभरको जनजीवन अस्तव्यस्त बनेको छ ।
निरन्तर परिरहेको झरीले सर्वसाधारण घरबाट बाहिर निस्कनसमेत समस्या भएको छ । दैनिक आवश्यक सामग्री खरिद, विद्यालय सञ्चालन र सवारी आवागमन ठप्पजस्तै बनेको छ । वर्षाका कारण पशु चौपायाका लागि दाना–पानीको जोहो गर्न पनि स्थानीयवासीलाई समस्या भएको छ ।
यता धान भित्र्याउने बेलामा परेको झरीले रौतहटका किसान थप चिन्तित बन्नुभएको छ । खडेरीको मार सहेर धान रोपेका किसान अहिले धान पाकेपछि भित्र्याउने क्रममा रहेका बेला लगातार वर्षा भएपछि चिन्तामा पर्नुभएको हो । खेतमै पाकिसकेको धान पानीमा भिज्ने, दौनी गर्न कठिनाइ हुने र गुणस्तर घट्ने डर बढेको किसानहरूको भनाइ छ ।

वृन्दावन नगरपालिका–१ का किसान बेच्न राउतले भन्नुभयो, “धान काट्ने र घर ल्याउने बेला पानी पर्नाले खेतमै धान बिग्रने डर छ । दुई दिनमै यस्तो पानी परेपछि धान बचाउन सक्ने अवस्था छैन ।”
त्यस्तै, चन्द्रपुर नगरपालिका–९ का किसान कुमार गौतमका अनुसार धान भित्र्याउने तयारीमै निरन्तर झरी पर्न थालेपछि किसानको मिहिनेत खेर जाने चिन्ता बढेको छ । “गोरखनाथ, बिजी, कतर्नी, चन्दन पचासी जस्ता जातका धान भित्र्याउने बेला नै पानी प¥यो,” उहाँले भन्नुभयो, “अब खेतमै धान कुहिने डर छ ।”
कृषि ज्ञान केन्द्र रौतहटका सूचना अधिकारी सरोज मण्डलका अनुसार हालसम्म कति क्षेत्रफलमा धान काटिएको वा पानीले प्रभावित भएको विवरण प्राप्त नभएको बताउनुभयो । “विवरण सङ्कलन कार्य आजदेखि सुरु गरिएको छ,” उहाँले जानकारी दिनुभयो ।
उहाँले थप्नुभयो, “तीन–चार दिनअघि नै मौसम खराब हुने पूर्वानुमानसहित किसानलाई धान नकाट्न सूचना जारी गरिएको थियो, तर कतिपय किसानले त्यही समयमा काटेका कारण अब समस्या भएको छ ।”
वर्षा रोकिएर मौसम सुधार नहुँदासम्म किसानले धान भित्र्याउने कार्य स्थगित गर्न बाध्य हुनु परेको हो । निरन्तर झरी यस्तै रहने हो भने यस वर्ष किसानलाई थप आर्थिक क्षति हुने सम्भावना देखिएको छ ।







प्रतिक्रिया राख्नुहोस्