बाजुराबाट १ करोड बढीको स्याउ निर्यात
बाजुरा । बाजुराबाट हालसम्म एक करोड रुपैयाँभन्दा बढी मूल्यको स्याउ जिल्ला बाहिर निर्यात गरिएको छ।
कर्णाली करिडोरमार्ग हुँदै धनगढी, नेपालगन्ज, काठमाडौँ लगायतका सहरहरूमा स्याउको बजारीकरणका लागि ढुवानी भइरहेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसि सहानीका अनुसार ढुवानी अनुदानमार्फत स्याउ जिल्ला बाहिरका सहरहरूमा पठाउने कार्य निरन्तर जारी छ। ढुवानी अनुदानको व्यवस्था भएपछि किसानहरूमा उत्साह देखिएको उहाँले बताउनुभयो।

पहिला ढुवानी नभएर बारीमै स्याउ कुहिने डरमा किसान भए पनि अहिले स्याउ जिल्ला बाहिरका बजारसम्म पुग्दा खुसी भएका छन्। स्वामिकार्तिक खापर गाउँपालिका–५ जुरोस्थित जडीबुटी कृषक समूहका प्रेम कटेलका अनुसार, “पहिला ढुवानी नभइ स्याउ बारीमै कुहिन्छ कि भन्ने चिन्ता थियो, अहिले बारीबाटै अनुदानमा स्याउ ढुवानी हुन पाउँदा हर्षित छौँ।

कृषि ज्ञान केन्द्रका अनुसार पहिलो चरणमा स्वामिकार्तिक खापर र जगन्नाथ गाउँपालिकाबाट स्याउ निर्यात गरिएको छ। अहिले बुढीनन्दा नगरपालिका–पाण्डुसैनका स्याउ ढुवानी प्रक्रियामा छन्।
बाजुराका स्याउ अर्ग्यानिक र स्वादिष्ट मानिने भएकाले देशका विभिन्न सहरहरूमा यसको माग बढ्दो क्रममा रहेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्