तपाईँ सुन्दै हुनुहुन्छः

बाँसका कलाबाट गुजारा चलाइरहेका दिनेश मलिकको जीवन र सङ्घर्ष

रौतहट। रौतहटको वृन्दावन गाउँपालिका–७ का दिनेश मलिकका बिहानै मोबाइलको रिङ सुन्दा खुसी हुन्छन्।- किनभने त्यो अर्डरको सङ्केत हो । बाँसका डाला, दौरा, पेटारी, चङेली र बेना बनाउँदै उहाँ आफ्नो परिवार पालिरहनुभएको छ । सात वर्षदेखि यही पेसाबाट गुजारा चलाउँदै आउनु भएका मलिकको बिहान बाँस चिर्ने र साँझ परिवारको भोक मेटाउने चक्रमै बित्छ । 

२०६५ सालमा बुवा–आमा गुमाएपछि पढाइ टुङ्ग्याउन नपाएका मलिक अहिले २५ वर्षका भए पनि गाँसबासको चिन्ता उस्तै छ । “भोकै पेट कसरी बाँच्नु, दुःख सुख:मा जीवन त जिउनै पर्‍यो,“ उहाँ भन्नुभयो । छठको समय सुरु भएसँगै उहाँको दैनिकी अझ व्यस्त भएको छ । बाँसका सामग्रीको अर्डर बढेकाले काम गर्न नपुग्ने गरी व्यस्त हुनुहुन्छ उहाँ । 

एउटा बाँस खरिद गर्न ३ सय ५० रुपैयाँ पर्छ । त्यसबाट दुई दिन लगाएर दुई वटा डाला बनाउन सकिन्छ । डाला रङ्गाएर बेच्दा १ हजार रुपैयाँसम्म पाउनु हुन्छ । तर बाँस, रङ्ग र श्रमको हिसाबले झन्डै ४ सय ५० रुपैयाँ खर्च पर्छ । बाँकी थोरै आम्दानीले घर खर्च चलाउन मुस्किल पर्छ मलिकले बताउनुभयो । 

काम नआएका दिन उहाँ गाउँका महाजनहरूका लागि टाटी बुन्नुहुन्छ । दिनभरि काम गर्दा ५ सय रुपैयाँ ज्याला पाउनुहुन्छ । त्यसै पैसाले बिहान–साँझको चामल, दाल र तरकारी किन्नुहुन्छ । महिनामा १० देखि १२ हजार रुपैयाँ घर खर्च पर्छ, तर आम्दानी कहिल्यै त्यति पुग्दैन । 

साढे तीन वर्षअघि ससुरालीबाट लिएको ४५ हजार रुपैयाँ ऋण अझै तिर्न सक्नुभएको छैन । “ससुराले सुँगुर बेचेर पैसा दिनुभयो, तर ज्वाइँ भनेर चुप बस्नुभएको होला,” उहाँ दुखेसो पोख्नुभयो । 

चारैतिर भ्वाङ परेको झुपडीमै श्रीमती मैना देवी र तीन सन्तानसँग बस्दै आउनु भएका मलिक सुत्नका लागि च्यातिएको बर्को ओढ्नु हुन्छ । चार वर्षदेखि नयाँ लुगा किन्न नपाएको उहाँले बताउनुभयो । श्रीमतीले पनि घरमै बाँसका समान बनाउन सघाउँछिन् । 

“मेरो नाममा एक धुर जमिन पनि छैन,” मलिक भन्नुभयो, “शौचालय, सडक सफाइ, ढल फाल्ने काम पनि हाम्रो जातले गर्नुहुन्छ ।” सुँगुर पालेर केही आम्दानी भए पनि त्यो स्थायी समाधान होइन । 

हाल मलिक छठ पर्वका लागि दौरा र सिपुली बनाउन व्यस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भगवानले कहिले पक्की घरमा सुत्ने दिन ल्याउँछन्, थाहा छैन । तर म छोरालाई पढाएर राम्रो बनाउने सपना भने देखिरहेको छु ।”

दिनेश मलिकको यो कथा बाँसको कलासँगै सङ्घर्ष र आत्मनिर्भरताको उदाहरण बनेको छ । जहाँ दुःखबिच पनि आशा मरेको छैन ।  

राज्यको नजर पर्खिरहेका मलिकहरू
कुनै पनि सरकारले हामीलाई हालसम्म सहयोग गर्नुभएको छैन । नेताहरूले चुनावको समयमा एक-दुई बोरा चामल बाहेक अन्य कनै सहयोग नभएको सुनाउनुभयो । दिनेश मलिक बाँस कलाले जीवन त चलाइरहेको छ, तर त्यो जीवन अझै असुरक्षित छ । राज्यले यस्ता परिवारलाई गाँस, बास र कपासको व्यवस्था मिलाइदिनुपर्ने आवश्यकता झनै देखिएको छ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button