तपाईँ सुन्दै हुनुहुन्छः

बन्दाबन्दी प्रभावकारी बनाउन सशस्त्र प्रहरीद्वारा साइकल गस्ती

कञ्चनपुर । कञ्चनपुरमा बन्दाबन्दी (लकडाउन) प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलले साइकल गस्ती शुरु गरेको छ ।

कोरोना भाइरसको संक्रमण थप बढ्न नदिन सरकारले आगामी जेठ ५ गतेसम्म बन्दाबन्दी जारी राख्ने निर्णय गरेसंगै बन्दाबन्दी प्रभावकारी बनाउन सशस्त्र प्रहरीले साइकल गस्ती शुरु गरेको सशस्त्र प्रहरी उपरीक्षक बीर सिंह शाहुले जानकारी दिनुभयो । उहाँका अनुसार, सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीले कञ्चनपुर जिल्लाभरी साइकल गस्ती गर्न मातहतका निकायलाई निर्देशन समेत दिइसकेको छ ।

कञ्चनपुरका सबै सीमा क्षेत्र, पुर्वपश्चिम राजमार्ग, वनजंगल क्षेत्र, ग्रामीण बस्ती र बजार क्षेत्रमा सशस्त्र प्रहरीले साइकल गस्ती गरेर बन्दाबन्दीको उलंघन कम गराउने र आपराधिक गतिविधि न्यूनीकरणमा समेत सहयोगी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । सीमा क्षेत्रमा समेत सशस्त्र प्रहरीले जनशक्ति थप गरेको छ ।

यता बेलौरी नगरपालिकाले पनि सशस्त्र प्रहरीलाई गस्ती प्रभावकारी बनाउन ८ थान साइकल र केही सुरक्षा उपकरण प्रदान गरेको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button