झापामा बाढीले कृषि बालीमा ७ करोड ६० लाख बढीको क्षति
भद्रपुर, झापा । असोज १८ देखि २० गतेसम्म भएको अविरल वर्षासँगै विभिन्न नदीमा आएको बाढी र डुबानका कारण झापाको कृषि क्षेत्रमा सात करोडबढीको क्षति भएको छ ।
कृषि ज्ञान केन्द्र झापाका अनुसार झापामा ५१२.६३ हेक्टर क्षेत्रफलमा लगाइएको कृषि बालीमा ७ करोड ६० लाख २८ हजार २२० रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
बाढीले सबैभन्दा बढी झापा गाउँपालिकाको वडा नं १, २ र ३ लाई प्रभावित पारेको छ । त्यहाँ ३६५.२७ हेक्टर क्षेत्रफलमा लगाइएका धान, गहुँ र सागसब्जीमा क्षति पुगेको छ । बाढी र डुबानबाट गौरीगञ्ज, शिवसताक्षी, भद्रपुर, गौरादह र कनकाई नगरपालिकाका विभिन्न वडामा कृषि बालीमा बढी क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।
बाढीले सबैभन्दा बढी धानखेतीमा असर गरेको छ । झापाका ७०३ कृषकले ४६३.४२ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति पुगेको छ ।
यसैबीच, बाढीबाट प्रभावित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहको समन्वयमा राहत वितरण सुरु गरिएको प्रमुख विष्टले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्