युएईलाई एक रनले हराउँदै नेपाल विजयी

काठमाडौँ । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत युएईसँगको खेलमा नेपाल एक रनले विजयी भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो । आसिफले ४७ बलमा ५१ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० रन बनाए । गुल्शन झाले ५ बलमा १४ रन बनाएर आउट भए ।
नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । युएईका लागि अलिशान सराफूले ५८ रन बनाए भने ध्रुव पराशरले ३८ रन बनाए ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङमा नेपालले युएईविरुद्ध एक रनको रोमाञ्चक जित हासिल गरेको हो । नेपाललाई एक रनको जित दिलाउन ऐरीले तीन महत्वपूर्ण विकेट लिए ।
अन्तिम ओभरमा युएईलाई जितका लागि १० रन चाहिएको थियो । एउटा छक्का निकाल्न सफल भएता पनि यूएई लक्ष्यसम्म पुग्न सकेन । युएईलाई जितका लागि ३ बलमा ३ रनमात्र आवश्यक थियो । चौथो, पाँचौँ र छैटौँ बलमा लगातार विकेट लिँदै नेपालले एक रनको रोमाञ्चक जित निकालेको हो ।
प्रतिक्रिया राख्नुहोस्