तपाईँ सुन्दै हुनुहुन्छः

प्राविधिक विश्वविद्यालयप्रति विद्यार्थीहरूको आशा पलाएको छ : मुख्यमन्त्री आचार्य

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयले विद्यार्थीहरूको आकर्षण बढाउन थालेपछि विश्वविद्यालयप्रति नयाँ आशा पलाएको बताउनुभएको छ । 

आइतबार विश्वविद्यालयको सातौं सभालाई सम्बोधन गर्दै उहाँले विश्वविद्यालयलाई उत्कृष्ट र नमुना संस्थाका रूपमा विकसित गर्न साझा प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो ।

मुख्यमन्त्री आचार्यले पछिल्ला ६/७ महिनामा गरिएको मेहनतले आशाको किरण जगाएको उल्लेख गर्दै विश्वविद्यालयले अझ विश्वास जित्नका लागि थप परिश्रम गर्नुपर्ने बताउनुभयो ।

उहाँले लुम्बिनी प्राविधिक विश्वविद्यालय भौगोलिक रूपमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको संगम स्थल भएकाले यसले तीनवटै प्रदेशका विद्यार्थीलाई आकर्षित गर्न सक्ने क्षमता रहेको बताउनुभयो । ‘यो विश्वविद्यालयलाई धेरै हिसाबले मन्थन गरेर उत्कृष्ट बनाउन सकिन्छ’ उहाँले भन्नुभयो ‘सरकारको तर्फबाट आवश्यक सहयोग र साथ रहनेछ ।’

सभामा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले पनि विश्वविद्यालयले विद्यार्थीमा विश्वास जगाउँदै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सातौं सभामा विश्वविद्यालयका विभिन्न आर्थिक, शैक्षिक र प्रशासनिक विषयमा प्रस्तावहरूमा छलफल गरिएको थियो । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन र २०८२/०८३ को बजेट स्वीकृति, अध्ययन संस्थान तथा केन्द्रहरूलाई आर्थिक व्यवस्थापन अधिकार प्रदान गर्ने, शिक्षक–कर्मचारी सेवा विनियममा संशोधन, करार कर्मचारी व्यवस्थापन कार्यविधि सुधार, र कृषि, वन तथा पर्यटनका शैक्षिक कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्तावहरू समावेश थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button