तपाईँ सुन्दै हुनुहुन्छः

पानी पर्न रोकिएर घाम लागेसँगै मध्यतराईमा राहत, नदी कटान र डुबानले ठूलो क्षति

वीरगञ्ज । आइतबार बिहानदेखि पानी पर्न रोकिएर घामलागेसँगै बारा, पर्सा र रौतहटसहित मध्य तराइको जनजीवनलाई राहत भएको छ ।
दुई दिनदेखिको निरन्तर वर्षाले प्रभावित यसक्षेत्रमा नदी कटान तथा डुवान भने तिब्ररुपमा रहेको छ ।
रौतहटमा बागमती, लालबकैया नदीमा आएको बाढीले ठूलो क्षति पु¥याएको छ भने बारा, पर्सा, रौतहटका सदरमुकाम वीरगंज, कलैया र गौर डुबानमा परेका छन् ।


निरन्तर वर्षापछि वीरगंज भएर बग्ने सिर्सिया नदीमा पानीको बहाव तीव्र बनेसँगै वीरगञ्जका विभिन्न वडाका बस्तीहरू डुबानमा परेका छन् । वीरगञ्ज महानगरपालिकाका सबैठवा, रामगढवा, र वडा नम्बर १० का विभिन्न टोलहरूका सयौं घरमा बाढी पसेको छ ।
स्थानीयवासीका अनुसार यो वर्ष पहिलोपटक गाउँभित्रै बाढी पसेको हो । सिर्सिया नदीको पानी ओभरफ्लो भएपछि घरघरमा पानी पसेको र बस्ती जलमग्न बनेको छ । यस्तै, तिलावे नदीको बहाव पनि तीव्र बनेको छ, जसले आसपासका खेतबारी र बस्तीमा डुबान थपिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।


बाढीको प्रभाव बढी देखिएका क्षेत्रहरूको स्थलगत अनुगमन गर्न वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह सहितको टोली नगरका बिभिन्न क्षेत्रमा पुगेको छ । मेयर सिंहले डुबानग्रस्त बस्तीका प्रभावित परिवारहरूको तत्काल उद्धार र व्यवस्थापनका लागि सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
उहाँले वीरगंजका डुबानग्रस्त टोलमा राहत र उद्धार कार्य प्राथमिकताका साथ अघि बढेको र स्थानीयवासीको सुरक्षामा कुनै कमी हुन नदिईने बताउनुभयो ।


त्यसैगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानुले महानगरपालिकाले बाढीको कारण तत्कालीन राहत, खानेपानी र आवास व्यवस्थापनमा जोड दिन स्थानीय टोलीहरू परिचालन गरेको बताउनुभयो ।
यसबीच, वीरगञ्जका अन्य टोलहरूमा पनि सिर्सिया नदीको पानी पसेको छ ।


बर्षा रोकिएपछि अहिले डुबान समेत घट्दै गएको र प्रभाबित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरी उद्धार र राहत कार्यलाई एकसाथ अगाडि बढाईएको पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button