तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिण पश्चिम पाकिस्तानमा भएको आत्मघाती आक्रमणमा १० जनाको मृत्यु, ३० घाइते

इस्लामावाद ।  दक्षिण पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तमा मङ्गलवार अर्धसैनिक बलको मुख्यालयलाई लक्षित गरी गरिएको आत्मघाती आक्रमणमा १० जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको प्रान्तीय स्वास्थ्य मन्त्री बख्त मुहम्मद काकरले बताउनुभएको छ । 

आक्रमण राजधानी क्वेटामा स्थानीय समय अनुसार बिहान ११ः३० बजेको आसपासमा भएको उहाँको भनाई छ । आतङ्ककारीले विस्फोटक पदार्थले भरिएको गाडीलाई मुख्यालयको बाहिरी पर्खालमा ठोक्काएपछि विस्फोट भएको तथा चार आतङ्ककारीहरू भवनमै लडेको सुरक्षा स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्ह्वाले जनाएको छ ।  आक्रमणपछि सुरक्षा बलको जवाफी कारबाहीमा गोली हानेर मारेको तथा उनीहरूको शव अनुसन्धानका लागि  लिइएको स्रोतले जनाएको छ ।  

क्वेट्टामा रहेको गैरसरकारी संस्था फाउन्डेसनका अपरेसन म्यानेजर मुहम्मद जिशानलाई उद्धृत गर्दै सिन्ह्वाले मृतकमा सात जना सर्वसाधारण र तीन जना सुरक्षाकर्मी रहेको र घाइतेमा एक अधिकारीसहित नौ जना सुरक्षाकर्मी रहेको जनाएको छ ।  

विस्फोट हुँदा बस र रिक्सा घटनास्थलमा रहेको तथा अधिकांश मृतक र घाइतेहरू गाडीमा सवार यात्रुहरू रहेको उहाँले बताउनुभएको छ । घाइतेहरूलाई क्वेटा सिभिल अस्पतालमा सारिएको जनाउँदै उहाँले धेरैको अवस्था गम्भीर रहेको उल्लेख गर्नुभएको छ ।  

स्वास्थ्य विभागका प्रवक्ता वसीम बेगलाई उद्धृत गर्दै सिन्ह्वाले सहरका सबै प्रमुख अस्पतालहरूमा आपतकालिन अवस्था घोषणा गरिएको र मेडिकल स्टाफ चुनौतीको सामना गर्न उच्च सतर्कतासहित तयार रहेको जनाएको  छ ।

अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

प्रधानमन्त्री शाहबाज सरिफले आक्रमणको निन्दा गर्दै निर्दोष नागरिकहरूलाई हानि पुर्‍याउने र देशको अखण्डतालाई कमजोर पार्ने प्रयास गर्ने आतङ्ककारीहरूलाई कानुन बमोजिम कारबाही गरिने बताउनुभएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button