तपाईँ सुन्दै हुनुहुन्छः

साफले पहिलो पटक महिला क्लब फुटबलको आयोजना गर्ने

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक महिला क्लब फुटबलको साफ च्याम्पियनसिप २०२५ आयोजना गर्ने भएको छ ।

पहिलो पटक साफले गर्न लागेको यो प्रतियोगिता नेपालमा हुनेछ । प्रतियोगिता डिसेम्बर ५ देखि २० तारिखसम्म नेपालमा हुने साफले जनाएको छ । प्रतियोगितामा दक्षिण एसियाका ५ देशका शीर्ष क्लबहरूबिच प्रतिस्पर्धा हुने भनिएको छ ।

आयोजक नेपालको प्रतिनिधित्व एपिएफ फुटबल क्लब (एपिएफ) ले गर्नेछ । यस्तै बङ्गलादेशको नसरिन स्पोट्र्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, भारतको इष्ट बेङ्गल एफसीले भाग लिने भनिएको छ ।

साफले महिला साफ च्याम्पियनसिप आयोजना गर्दै आएपनि क्लब च्याम्पियनसिप गर्न लागेको यो पहिलो पटक हो । १५ दिन सम्म चल्ने प्रतियोगिता राउन्ड रोबिन पद्धतिमा हुनेछ । यसपछि शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने नियम रहेको छ ।

प्रतियोगिताको विजेतालाई नगद पुरस्कारको व्यवस्था पनि गरिएको साफले जनाएको छ । तर के कति रकम दिने निर्णय हुन बाँकी छ । सबै खेल काठमाडौँको दशरथ रङ्गशालामा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button