तपाईँ सुन्दै हुनुहुन्छः

धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

टक्सार (भोजपुर)। विसं १८७२ मा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालमा नेपालमै एक मात्र टक काट्ने स्थल भोजपुरको ऐतिहासिक टक्सार बजार स्थापना गरिएको इतिहास छ । यो सहरका मुख्य पहिचानका रूपमा यहाँ ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्त्वका मठमन्दिरहरू रहेका छन् ।

टक्सार बजार र आसपासमा २० वटाभन्दा बढी धार्मिक तथा सांस्कृतिक स्थलहरू छन्, जसमा ऐतिहासिक शाक्यमुनि बौद्धविहार, राममन्दिर, मच्छिन्द्रनाथ, शिवमन्दिर, हनुमान मन्दिर, गणेशलगायत दर्जनौँ बढी मठमन्दिर तथा विहारहरू पर्दछन् । यिनै सम्पदाहरू संरक्षण र रेखदेखको अभावमा ओझेलमा पर्दै गएका छन् ।

यी सम्पदाको उचित रेखदेख र व्यवस्थापन नहुँदा पूजाआजा गर्ने तीर्थालुसमेत घट्दै गएको स्थानीयको गुनासो छ । स्थानीय सानुकाजी शाक्य काठमाडौँ उपत्यकाको पाटनमा रहेका मठमन्दिर जत्तिकै महत्तव बोकेका यहाँका मठमन्दिरको जीणोद्धार हुन नसक्दा समस्या भएको बताउनुहुन्छ । यसलाई दोस्रो मिनी पाटनका रूपमा पनि चिन्ने गरिन्छ । पाइलैपिच्छे भेटिने टक्सारका मठमन्दिरहरू संरक्षणको अभावमा जीर्ण बन्दै गएकाले सरोकार भएकाहरूले यसमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

स्थानीय किशोर ताम्राकार यहाँ रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा राज्य पक्षबाट सहयोग हुनुपर्ने बताउनुहुन्छ । “इतिहास बोकेको टक्सारलाई पहिलाकै अवस्थामा फर्काउन गुरुयोजनासहित काम गर्न आवश्यक छ । टक्सारको प्रचार–प्रसारका लागि स्थापना गरिएको भोजपुर सङ्ग्रहालयबारे पनि उचित ध्यान दिन आवश्यक छ”, उहाँले भन्नुभयो ।

यशोधरा माध्यामिक विद्यालय टक्सारका प्रधानाध्यापक धु्रवराज रेग्मी सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्त्वसँग सम्पदाको विकासका लागि स्थानीय निकायले योजनाबद्ध रूपमा विकास गर्नुपर्नेमा जोड दिनुहुन्छ “टक्सारका ऐतिहासिक सम्पदा संरक्षणका लागि स्थानीय नागरिक, स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले समेत ध्यान दिनु आवश्यक छ । नभए यहाँको पहिचान नै गुम्नसक्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button