तपाईँ सुन्दै हुनुहुन्छः

‘संविधानको परिधिमा रहेर परिवर्तनका पक्षधरको माग सम्बोधन गर्नुपर्छ’

काठमाडौँ । पूर्व सभामुख द्वय अग्निप्रसाद सापकोटा र कृष्णबहादुर महराले नेपालको संविधानको परिधिमा रहेर परिवर्तनका पक्षधरका माग सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ । 

उहाँहरूले आज संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “ऐतिहासिक संविधान सभाबाट निर्माण गरिएको नेपालको संविधानको परिधिमा रहेर परिवर्तनका पक्षधरको मागलाई सम्बोधन गर्दै अग्रगमनको दिशातिर अगाडि बढ्नुपर्दछ, राष्ट्रपतिबाट भइरहेको पहल स्वागतयोग्य छ, सङ्घीय संसद्बाट तत्काल आवश्यक कानुन निर्माण गरी मुलुकलाई नयाँ जनादेशमा लैजाने मार्ग वैधानिक र उपयुक्त विधि हुनेछ ।”

उहाँहरूले संविधान कार्यान्वयन तथा सरकार सञ्चालनका क्रममा भएका कमीकमजोरी र कार्यशैलीमा देखापरेका त्रुटिको स्वीकार र गम्भीर समीक्षा गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने उल्लेख गर्नुभयो । 

नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट स्थापित लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समानुपातिकता, समावेशिता, धर्मनिरपेक्षता जस्ता मूलभूत उपलब्धिको संरक्षण गर्नु सबैको दायित्व हुने उहाँहरूको भनाइ छ । जेन–जी पुस्ताले आह्वान गरेको आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना उहाँहरूले गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button