विद्यार्थी नेत्री व्यवसायिक कृषिमा लागेपछि…

चितवन – एक दशकभन्दा बढीदेखि विद्यार्थी राजनीतिमा सक्रिय निशा अधिकारीलाई आजभोलि कृषि फार्ममा पनि भेट्न भेटिन्छ ।
विसं २०६५ मा मैयादेवी कन्या कलेजको स्ववियु सभापति भएपछि विद्यार्थी राजनीतिमा उदाएकी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुको केन्द्रीय नेत्री अधिकारी यसअघि सचिवालय सदस्य, तत्कालीन नारायणी अञ्चल इन्चार्ज हुनुभएको थियो ।
उहाँ पार्टी एकीकरणअघि सो अनेरास्ववियुको अनुशासन आयोगको अध्यक्ष हुनुहुन्थ्यो र अहिले पनि केन्द्रीय सदस्य हुनुहुन्छ । नेकपाको क्षेत्रीय कमिटीमा पनि आबद्ध हुनुहुन्छ ।
समाजसेवीका रुपमा पनि परिचित अधिकारी यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समिति सदस्यसमेत पनि हुनुहन्छ तर उहाँ आजभोलि मूलत आफ्नो कृषि फार्ममा भेटिनुहुन्छ ।
कृषि क्षेत्रका अग्रज, पूर्वप्रशासक, विदेशबाट फर्किएका मेहेनती युवा र स्थानीयसँग सहकार्य थरी यो फार्म खोलिएको हो ।
सो समूहले भरतपुर महानगरपालिका–२४ को नयाँबस्तीमा केरुङ्गा सामूहिक तरकारी कृषि फार्म सञ्चालनमा ल्याएको छ । ६२ बिघा जमिनमा सिँचाइको व्यवस्था गरेर यसै आवबाट तरकारी खेती गर्न शुरु गरिएको हो । अधिकारीको सो समूहमा अरुको जस्तै शेयर छ ।
उहाँको कुनै पद छैन, यद्यपि बिहानदेखि बेलुकासम्म फार्ममै व्यस्त हुनुहुन्छ । तरकारी लगाउनेदेखि बजारीकरणसम्म उहाँले सक्रिय भूमिका खेल्दै आउनुभएको छ ।
स्थानीय ९६ शेयरधनीले रु २० हजारदेखि रु एक लाखसम्म लगानी गरेर फार्म सञ्चालन गरिएको हो । वार्षिक प्रतिकठ्ठा रु दुई हजार भाडामा ७२ जनाको जग्गा भाडामा लिएर तरकारी खेती गरिएको छ ।
हाल यहाँबाट गोलभेँडा, खुर्सानी, भेन्टा, फ्यूसिमी, बन्दा, तनेबोडी, करेला, काँक्रो, लौका बिक्री वितरण भइरहेको छ । समूहका अध्यक्ष हरिबाबु ढकाल स्थानीयवासीलाई रोजगारी दिँदै युवा जनशक्तिलाई आकर्षण गर्न आफूहरु लागिपरेको बताउनुहुन्छ ।
विद्यार्थी राजनीतिमा सक्रिय अधिकारीजस्ता व्यक्ति कृषिकर्ममा लाग्दा समूहको विकाससँगै अन्यलाई नयाँ सन्देश दिइरहेको ढकालले बताउनुभयो । युवा जनशक्ति कृषि कर्ममा लाग्यो भने देशले समृद्धि पाउने भन्दै उहाँले अधिकारीजस्ता युवा सक्रियरूपमा कृषि कर्ममा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
स्थानीयदेखि माथिल्लो तहसम्म समन्वय गरिएकाले बजारीकरणमा सहयोग पुगेको ढकाल बताउनुहुन्छ । सो समूहले वाग्मती प्रदेशको कृषि विकास निर्देशनालय हेटौँडासँग सहकार्य गरेर एकीकृत नमूना कृषि कार्यक्रमअन्तर्गत अनुदान लिएर फार्मलाई विस्तार गर्ने तयारी गरेको छ ।
अध्यक्ष ढकालका अनुसार थोपा सिँचाइ, ग्रिनहाउस, सिकाइ केन्द्र, विभिन्न औजार उपकरण खरिद, पाइपलाइन विस्तार, गोदामघर निर्माण, एक हजार टन क्षमताको कुलबोट (चिसो घर) जस्ता संरचना निर्माण गरिँदै छ ।
सो वडाका अध्यक्ष कान्छा मल्ल समूहका संरक्षक हुनुहुन्छ । सो क्षेत्रलाई कृषि पर्यटन वडाका रुपमा विकास गर्न अधिकारीले उत्प्रेरित गरेको उहाँले बताउनुभयो । मल्लको वडामा मात्रै ३०० हेक्टरभन्दा बढीमा तरकारी खेती गरिएको छ । मल्लले विद्यार्थी राजनीतिसँगै कृषि कार्यमा अधिकारी सक्रिय हुँदा अरुलाई पनि प्रेरणा मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब युवाले जाँगर चलाउनुपर्छ, निशाजी यसको नमूना हुनुपर्छ ।”








प्रतिक्रिया राख्नुहोस्