तपाईँ सुन्दै हुनुहुन्छः

सञ्जय टकलासहित नख्खु कारागारबाट भागेका १८ कैदीबन्दी पक्राउ

काभ्रेपलाञ्चोक । जेनजी प्रदर्शनका क्रममा नख्खु कारागारबाट भागेका १८ कैदीबन्दीलाई आज काभ्रेपलाञ्चोकको मङ्गलटारबाट पक्राउ गरिएको छ ।

कारागारबाट भागेका पूर्व राज्यमन्त्री सञ्जय टकला (साह)सहित १८ जनालाई भाग्दै गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । 

हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखिएको कार्यालयका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरूलाई इलाका प्रहरी कार्यालय मङ्गलटारको प्रहरी टोलीले बिपी राजमार्गअन्तर्गत भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो । 

टकलाले जनकपुर बम काण्डमा दोषी ठहर, सञ्चार उद्यमीको हत्या र अकुत सम्पत्तिको मुद्दामा सजाय भुक्तान गरिरहेका थिए । पक्राउ गरिएका सबैलाई आजै नख्खु कारागार नै पठाउने तयारी भइरहेको कुँवरले बताउनुभयो । अन्य कारागारबाट फरार भई काभ्रेपलाञ्चोक हुँदै भाग्दै गरेकालाई अरनिको र बिपी राजमार्गमा विशेष निगरानी गरिरहेको जिल्लास्थित प्रहरीले जनाएको छ । 

यसअघि बुधवार सदरमुकाम धुलिखेलस्थित जिल्ला कारागार कैदीबन्दीले आगजनी गरेको थिए । अन्य स्थानका कारागारबाट कैदीबन्दी भागेपछि आफूहरूलाई पनि रिहा गर्नुपर्ने माग राख्दै कारागारभित्र तोडफोड र आगजनी गरेपछि तत्कालै दमकल प्रयोग गरेर कारगारमा भएको आगजनी नियन्त्रणमा लिइएको थियो । २८३ कैदीबन्दी रहेको उक्त कारागारमा आगजनी भएपछि बाहिर ठुलो सङ्ख्यामा नेपाली सेना,  नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button