जलेश्वर कारागारबाट फरार कैदी बन्दीहरू धमाधम पक्राउ पर्दै

जनकपुरधाम । जलेश्वर कारागारबाट फरार भएका कैदी बन्दीलाई पक्राउ गर्नका लागि धनुषा तथा महोत्तरी सहितका जिल्लाहरूमा सुरक्षा फौज परिचालन गर्ने काम भएको छ ।
कर्तव्य ज्यान सहित विभिन्न मुद्दाको आरोपमा जलेश्वर कारागारमा रहेका कैदीहरू छुटाउनका लागि केही युवाहरूको समूह कारागार क्षेत्रमा नारा जुलुस सहित पुगेपछि भित्रका बन्दीहरूले जेल फुटाएर फरार भएका थिए ।
मधेश आन्दोलनको क्रममा मारिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्याका आरोपीहरू रहेकोमा उहाँहरूलाई छुटाउनका लागि जेनजी आन्दोलनको क्रममा केही युवाहरू नारा जुलुस सहित मङ्गलवार साँझ जलेश्वर कारागार क्षेत्रमा पुगेपछि कैदीहरू कारागारको मूल प्रवेशद्वार तोडेर फरार भएका थिए ।
फरार भएका कैदी बन्दी मध्ये आज दिउँसोसम्ममा ३७ जना जेलमा आइसकेको र बाँकीको खोजी गर्ने काम भइरहेको महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनु भएको हो । जलेश्वर कारागारबाट मङ्गलवार साँझ ५ सय ७५ जना कैदी बन्दी फरार भएका थिए ।
जलेश्वर कारागारमा आएकाहरूमा २५ जना आफै फर्केका छन् भने १२ जनालाई भारतीय प्रहरीले पक्राउ गरेर नेपाल प्रहरीको जिम्मा लगाउने काम भएको थियो । अन्य फरारको नेपाली सुरक्षा कर्मीबाट खोजी गर्ने काम भइरहेको छ ।
थोरै समय कैद भुक्तानी गर्नका लागि बाँकी रहेका केही कैदीबन्दी आफै फिर्ता भएका छन् भने केही कैदी बन्दीलाई सुरक्षा फौजका टोलीले पक्राउ गरेका थिए । जलेश्वर कारागारमा ५ सय ७६ जना कैदी बन्दी रहेकोमा एक जना कैदी बन्दी भागेका थिएन ।
जलेश्वर कारागारमा बढी सङ्ख्यामा लागु औषध मुद्दाका आरोपीहरू रहेका छन् भने केही कर्तव्य ज्यानका मुद्दाका आरोपीहरू पनि रहेको कारागार प्रशासनले जनाएको छ । यसका साथै जबरजस्ती करणी जस्ता गम्भीर अपराधका कैदीहरू पनि रहेका थिए ।
जलेश्वर कारागारमा धनुषा महोत्तरीका विभिन्न अभियोगका आरोपीहरू तथा अभियोग प्रमाणित भएका थुनुवाहरू बस्दै आएका छन् ।








प्रतिक्रिया राख्नुहोस्