तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिक अस्थिरताप्रति एमाले गम्भीर, विनाशकारी घटनाको निष्पक्ष छानबिनको माग

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी एमालेले देशमा पछिल्ला दिनमा देखिएको असामान्य राजनीतिक परिस्थितिप्रति गम्भीर र संवेदनशील बनेको जनाएको छ ।

पार्टी केन्द्रीय सचिवालयका तर्फबाट महासचिव शंकर पोखरेलले आज जारी गर्नुभएको वक्तव्यमा हालको घटनाक्रमलाई मुुलुक दशकौँ पछाडि धकेल्ने विनाशकारी स्थिति भन्दै संविधानसम्मत विधिबाट निकास खोजिनुपर्नेमा जोड दिइएको छ ।

भदौ २३ गते जेन्जी युवाहरुले सामाजिक सञ्जालको स्वतन्त्रता, सुशासन, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्दा भएको जनधनको क्षतिप्रति एमाले पार्टी स्तब्ध भएको वक्तव्यमा जनाइएको छ ।

जेनजी आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दै वक्तव्यमा निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ । संसद, राष्ट्रपति भवन, सिंहदरबार, सर्वोच्च अदालत, विमानस्थल, प्रहरी कार्यालयलगायत संवैधानिक निकायमा गरिएको तोडफोड तथा अभिलेख नष्ट हुनु राष्ट्रका लागि ठूलो क्षति भएको र १३ हजारभन्दा बढी कैदीबन्दी जेल तोडेर भाग्नु शान्ति–सुरक्षामा गम्भीर चुनौती बनेको एमाले पार्टीका महासचिव पोखरेलले जारी गर्नुभएको वक्तव्यमा उल्लेख छ ।

आयोजकहरुले आफ्नो प्रदर्शन शान्तिपूर्ण रहेको र तोडफोडमा संलग्न नभएको प्रष्ट्याएको प्रसंग उल्लेख गर्दै वक्तव्यमा योजनाबद्ध रूपमा भएको विनाशकारी घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने माग गरिएको छ ।

एमालेले असामान्य स्थितिको लाभ उठाउँदै देशभर अझै पनि भइरहेको आगजनी र लुटपाट नियन्त्रणका लागि सेना सहित सबै सुरक्षा निकायलाई ध्यानाकर्षण गराएको पनि गराएको छ । पार्टीले आफ्नो पङ्क्तिलाई सार्वजनिक कार्यालय सरसफाइ, सामाजिक सद्भाव कायम गर्न र पीडितलाई सहयोग पुर्‍याउन आह्वान समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button