आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपूरणीय क्षति

काठमाडौँ । भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालको निर्बाध सञ्चालन र युवा नेतृत्वका लागि जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा मुलुकले ठुलो भौतिक क्षति व्यहोर्नु परेको छ । नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने क्रममा सोमबार भएको झडपमा ठुलो मानवीय क्षति भएसँगै मङ्गलवार प्रदर्शनले उग्ररूप लिएको थियो ।
त्यस क्रममा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित देशभरका महत्त्वपूर्ण संरचनामा अपूरणीय क्षति भएको छ । गोरखा भूकम्पपछि भर्खरै पुनः निर्माण सम्पन्न भएको सिंहदरबारस्थित पुरातात्त्विक महत्त्वको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकांश भाग जलेर नष्ट भएका छन् ।
आगजनी भएको २४ घण्टासम्म पनि सिंहदरबारभित्रका अधिकांश मन्त्रालयका भवनबाट धुवा आइरहेको छ । गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, शिक्षा विज्ञान तथा प्रविधि, सङ्घीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ्ख्या, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बढी प्रभावित भएको देखिन्छ । यस्तै सिंहदरबारस्थित नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको कार्यालय पूर्ण रूपमा क्षति भएको छ ।
सिंहदरबारभित्र पार्किङ गरिएका करिब एक हजार सवारी साधनमा आगजनी र तोडफोड भएको छ । आन्दोलनकारीले मन्त्रालयका कम्प्युटर, प्रिन्टर, ल्यापटप, कुर्सीलगायत महत्त्वपूर्ण सामग्री तोडफोड र लुटपाटसमेत भएको सम्बन्धित मन्त्रालयका कर्मचारीले जनाएका छन् । यसबाट राज्यलाई अरर्बौको क्षति भएको अनुमान गर्न सकिन्छ ।
प्रदर्शनकारीले राष्ट्रिय अनुसन्धान विभाग, केन्द्रीय क्यान्टिन, दुग्ध विकास संस्थानको बिक्री केन्द्रमा पनि लुटपाट, तोडफोड र आगजनी गरेका छन् । आन्दोलनकारीबाट भएको आगजनीबाट मन्त्रालयमा रहेका राज्य सञ्चालनसम्बन्धी महत्त्वपूर्ण कागजात छरपस्ट भएको देखिन्छ ।
प्रदर्शनकारीको आक्रमणको निशानामा परेको प्रमुख प्रशासकीय केन्द्र आज सुनसान प्रायः रह्यो । सिंहदरबार परिसर बाहिर रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय पनि आगजनीबाट पूर्णरुपमा ध्वस्त भएको छ । त्यहाँ आगजनीबाट कार्यालय भवन, आवास, अत्यावश्यक रासन, करिब चार सयभन्दा बढी सवारी साधन र करिब दुई लाखभन्दा बढी सवारी चालक अनुमति पत्र जलेर पूर्ण रूपमा नष्ट भएको कार्यालयले जनाएको छ । आगजनीबाट मेट्रो ट्राफिक एफएम स्टेसन र भवनमा पनि ठुलो क्षति पुगेको देखिन्छ ।
यसैगरी मुलुकको न्याय प्रशासनको प्रमुख केन्द्र ‘सर्वोच्च अदालत’ पनि आगजनीबाट क्षति भएको छ । आगलागीबाट त्यहाँ रहेका महत्त्वपूर्ण अभिलेख, फैसला, मिसिल र कागजातलगायत उपकरण र भौतिक संरचना नष्ट भएको अदालत प्रशासनले जनाएको छ । आगजनी नियन्त्रण र क्षति भएका भौतिक संरचनाको व्यवस्थापन तथा सरसफाइको काम सुरु भएको छ ।
जेनजी पुस्ताको पूर्वनिर्धारित कार्यक्रमअनुसार आज आन्दोलनका क्रममा भएको फोहर व्यवस्थापनको काममा स्वतःस्फूर्त रूपमा नागरिक पनि खटिइएका छन् । रासस








प्रतिक्रिया राख्नुहोस्