पोखरामा जेन-जी आन्दोलन भड्कियो, ५ जनालाई गोली लाग्यो

पोखरा । पोखरामा जेनजी समूहको आन्दोलन भड्किएपछि गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तोडफोड भएको छ । आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र रबरको गोली प्रहार गरेको छ ।
प्रहरीको गोली लागेर पाँच जना घाइते भएका छन् भने हालसम्म जम्मा १४ जना घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइतेमध्ये विनेस गुरुङलाई आँखा भन्दा माथिको भागमा गोली लागेको छ भने उहाँको हाल गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको छ ।
स्थिति नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले आज दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि पोखराको शहीदचोक, राष्ट्रबैंक चोक र मुख्यमन्त्री कार्यालय आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त सूचना जारी गर्नु भएको हो । पोखराको रत्नचोक क्षेत्रमा सोमबार दिनभर जसो प्रहरी र आन्दोलनकारी बिच पटक पटक झडप हुँदा त्यहाँको अवस्था असामान्य भएको थियो । आन्दोलनकारीले प्रहरी माथि ढुङ्गा प्रहार गर्दै सडकमा टायर समेत बालेर बिरोध गर्दा प्रहरीले अश्रु ग्याँस तथा रबरको गोली प्रहार गर्नु भएको थियो ।
बिहान ९ बजेदेखि सभागृह चोकबाट सुरु भएको प्रदर्शन चिप्लेढुंगा हुँदै मानवअधिकार चोकसम्म पुगेपछि स्थिति तनावपूर्ण बनेको हो । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फिर्ता गर्नुपर्ने र भ्रष्टाचार अन्त्य गर्नुपर्ने मागसहित जेनजी पुस्ताका युवाहरू सडकमा उत्रिनु भएको थियो । पोखराको उक्त आन्दोलनमा जेनजी समूहको हजारौँ युवा तथा बिद्यार्थीहरुको समूह सडकमा उत्रिँदै नारा जुलुस प्रदर्शन गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्