तपाईँ सुन्दै हुनुहुन्छः

शेयर कारोबार सञ्चालन गर्न सरोकारवालाहरुको जोड

शेयर बजारका सम्वद्ध तथा सरोकारवालाहरुले वैशाख २५ पछि आवश्यक सुरक्षा सर्तकता सहित शेयर बजार खोल्नु पर्नेमा जोड दिनु भएको छ ।

मंगलबार कोरोना प्रभाव शेयर बजार सम्बन्धमा नेपाल आर्थिक पत्रकार संघले गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै बक्ताहरुले ४५ दिन बजार बन्द हुदाँ लगानीकर्तामा नकारात्मक सन्देश जाने भएकोले बैशाख २५ पछि शेयर बजार सञ्चालनका लागि आवश्यक पहल गर्न सम्बद्ध निकाय सक्रिय हुनुपर्नेमा जोड दिनु भयो ।

भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले सरकाले लागू गरेको लकडाउन वैशाख २५ पछि खुकुलो भएको अवस्थामा हामी थोरै समयको कारोबार सञ्चालन गर्ने पक्षमा रहेको बताउनु भयो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले वैशाख २५ पछि शेयर बजार खोल्ने पक्षमा रहेको र बजार कसरी सुचारु गर्ने भन्ने विषयमा छलफल चलाउदै वैशाख २५ पछि बजार खोल्नु पर्ने पक्षमा अघि बढेको बताउनु भयो ।

उहाँले नेपालको सन्दर्भमा शेयर बजार सञ्चालनका लागि विजनेश कन्टिन्यूटीको प्लान, डिजास्टर रिकभरीको प्लान र आइटी पोलिसी आवश्यक रहेको बताउनुभयो ।

कोरोना संक्रमण रोकथाम भई जनजीवन सामान्य अवस्थामा फर्कन अझै अन्योल रहेकाले शेयर बजार सामान्य रुपमा भए पनि खोल्नुपर्ने नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले बताउनु भयो ।

बजार बन्द हुदाँ सबैभन्दा मारमा ब्रोकर व्यवसायी परेको भन्दै जतिसक्दो चाँडो बजार खुलाउनुपर्नेमा स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले जोड दिनु भयो ।

अन्तरक्रियामा शेयरबजार विज्ञ डा. गोपाल भट्टले बजार देशको आवश्यकता हो भने आवश्यक योजना सहित खोल्नुपर्नेमा जोड दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button