प्रतिनिधि सभामा प्रधानमन्त्रीको चीन भ्रमण र लिपुलेकबारे बहस
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले नेपाली भूमिलाई लिएर भारत र चीनबिच भएको व्यापारिक सम्झौताको विरुद्ध सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

सांसद दिलेन्द्र प्रसाद बडूले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा लिपुलेकको विषय उठाएर कूटनीतिक पहल गरे पनि चीनका राष्ट्रपति सि जिङ पिङले यो विषय नेपाल र भारतबिचको दुई पक्षीय रहेको भनी पन्छिन खोजेको विषय मान्य नहुने बताउनुभयो ।
उहाँले लिपुलेकमा भारत र चीनबिच हालै गरिएको व्यापार सम्झौता र विद्यमान सीमा समस्या समाधानका विषयमा दुवै छिमेकी मुलुकले सौहार्दतापूर्वक नेपालको सार्वभौमिकता र अखण्डताको सम्मान गर्दै समयमा समाधान गर्नुको विकल्प नरहेको बताउनुभयो ।
सांसद जुली कुमारी महतोले लिपुलेक नेपालको भूमि भएकाले चीन र भारतबिच भएको व्यापारिक सम्झौता मान्य नहुने र त्यसमा चीन सहभागी हुन नमिल्ने सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले राख्नु भएको स्पष्ट अडानले राष्ट्रको शिर उँचो बनाएको बताउनुभयो ।
सांसद लेखनाथ दाहालले परराष्ट्र मामिलाका विषयमा सिङ्गो देश र सिङ्गो संसद् एक ठाउँमा उभिएर पर्याप्त बहस र छलफल गरी विदेश नीति तर्जुमा गर्नुपर्ने भन्दै कोही पनि व्यक्तिले स्वेच्छाचारी रूपमा निर्णय लिने विषय मान्य नहुने बताउनुभयो ।
उहाँले नेपाललाई जानकारी नदिई भारत र चीनबिच लिपुलेक प्रयोग गर्ने विषयमा भएको व्यापारिक सम्झौताको सबैले एक भएर विरोध गर्नुपर्ने र समस्या समाधानका लागि कूटनीतिक पहल गरी निर्णय नसच्चिँदासम्म मित्र राष्ट्रसँग सम्बन्ध सुदृढ हुन सक्दैन भन्ने प्रस्ट पार्न सक्नुपर्ने बताउनुभयो ।
सांसद प्रकाश ज्वालाले चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति बिचको द्विपक्षीय भेटवार्तापछि चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा नेपालले समर्थन जनाएको दाबीका विषयमा सरकारलाई प्रश्न गर्नुभयो ।
सांसदहरूले उखु किसानहरूको जायज माग सम्बोधन गरी बक्यौता रकम भुक्तानी गर्न र बारम्बार सडकमा आउनुपर्ने अवस्था अन्त्य गर्न माग गर्नुभयो ।
सहकारी, लघुवित्त र मिटर व्याज पीडितका समस्या समाधान गर्न पनि सरकार गम्भीर बन्नुपर्नेमा सांसदहरूले जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्