तपाईँ सुन्दै हुनुहुन्छः

सम्पदाले भरिपूर्ण पाटन सङ्ग्रहालय

काठमाडौँ । मल्लकालीन कलाकृतिले भरिपूर्ण पाटन दरबार क्षेत्रमा रहेको सङ्ग्रहालय अवलोकन गर्न दैनिक एक हजार जनासम्म आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेका छन् ।

विश्व सम्पदा सूचीमा सूचीकृत सङ्ग्रहालयभित्र रहेका विभिन्न चोक, हिटी, काष्ठकला, मूर्तिकला र वास्तुकला पर्यटकका आकर्षणका केन्द्र बनेका छन् ।  

पाँचौँ शताब्दीको मंगलहिटीदेखि १७औँ शताब्दीको हरिसिद्धि मन्दिरलगायतका सम्पदा अटाएको पाटन सङ्ग्रहालयमा आन्तरिक तथा बाह्य पर्यटकको भीड नै लाग्ने गर्छ ।  

राजा योगनरेन्द्र मल्लको गरुडासनयुक्त नागले बेरिएको अग्लो शिला स्तम्भमाथि राखिएको सुनको चरा हेर्दै  मुख्यद्वारबाट छिरेपछि मल्लकालीन हिन्दु र बुद्ध धर्मसँग सम्बन्धित कलाकृतिले त्यहाँ जाने जोकोहीलाई पनि थप जिज्ञासा जगाउँछ ।

केशवनारायण चोकबाट सुरु हुने सङ्ग्रहालयको यात्रामा १५औँ शताब्दीको मणिमण्डप, १६औँ शताब्दीको कृष्ण मन्दिर, १५ औँ शताब्दीको चाँगुनारायण मन्दिर, १७ औँ शताब्दीको हरिसिद्धि मन्दिरसमेत देख्न पाइन्छ । 

प्राचीन कालमा  मणि झर्थ्यो भन्ने किंवदन्ती रहेको मणिमन्डपमा बसेर रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको साइत हेर्ने चलन अहिले पनि कायम छ । 

राजा सिद्धि नरसिंह मल्ल, श्री निवास मल्ल तथा योगनरेन्द्र मल्लको पालामा कलाकृतिको उच्चतम विकास भएको इतिहास रहेको बताउनुहुन्छ पाटनमै जन्मेर हुर्कनुभएका संस्कृतिका अध्येता ऋषि अमात्य । उहाँका अनुसार त्यति बेला काठमाडौँका राजाहरूले प्रतिनिधिमार्फत पाटनमा राज गर्दथे । पछि १६१९ तिर मात्रै पाटन स्वतन्त्र भएको इतिहास विद्हरू बताउँछन् । 

पुरन्दर सिंहहरूले बनाएको चाँगुनारायण, सिद्धि नरसिंह मल्लले बनाएको सुन्दरीचोक, चोकभित्रका तुसाहिटी र स–साना तान्त्रिक देवीदेवीका मूर्तिहरूलगायतका विविध सांस्कृतिक सम्पदाले भरिपूर्ण सङ्ग्रहालयमा विभिन्न चोक र सत्तलहरु छन् ।  

‘सिटी अफ फाइन आट्र्स’ थिमअन्तर्गत विकसित गरिएको सङ्ग्रहालयका २ हजारभन्दा बढी सामग्रीमध्ये  ३ सय ५० हाल प्रदर्शनीमा राखिएका छन् । शोकेसमा राखिएको सामग्रीबारे सूचना पनि सँगै राखिएको छ ।  

वार्षिक  २ करोडभन्दा बढी आम्दानी हुने सङ्ग्रहालयमा विदेशीलाई एका हजार र नेपालीलाई ३० रुपैयाँ प्रवेश शुल्क राखिएको छ । हप्ताका सातै दिन बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहने सङ्ग्रहालयमा दैनिक एक हजारसम्म पर्यटकहरू आउने गर्दछन् । तीमध्ये विदेशी पर्यटकहरू बढी हुने गरेका छन् । त्यसो त नेपाल आउने २० देखि ३० प्रतिशत पर्यटक पाटन सङ्ग्रहालय आउँछन् । त्यसका साथै मूर्तिकला, वास्तुकलालगायतका विविध विषयका अनुसन्धाता विद्यार्थीदेखि वृद्धवृद्धाहरुसम्म सङ्ग्रहालयमा आउँछन् । 

विश्व सम्पदा सूचीमा परेको पाटन दरबारबारे विद्यालयदेखि विश्वविद्यालयसम्म पढाइ हुने हुँदा पुस्तकमा पढेका कलालाई आफ्नै आँखाले हेर्न र अनुभूत गर्न आउने विद्यार्थीहरूको सङ्ख्या पनि उल्लेख्य नै हुने गरेको छ । आफ्ना विद्यार्थीहरूसहित सङ्ग्रहालय आउनुभएका  गोदावरीस्थित सुरचना स्कुलका विनोद महर्जन पढेको कुरा देखाउन बच्चाहरू लिएर आएको बताउनुहुन्छ । 

सुनको गेटबाट प्रवेश गरेर काष्ठकला धातुकलादेखि प्राचीन शिलालेखहरूसमेत रहेको  सङ्ग्रहालयमा हिन्दु धर्मको थिममा आधारित यस कक्षमा १४औँ शताब्दीको शिव पार्वतीको मूर्तिदेखि  राजा श्री निवास मल्लको सिंहासन, राजा पृथ्वीवीर विक्रम शाहको राजदण्ड,  रानीको शृङ्गार सामग्री, राजाको ढुङ्गाको खाट, मिथिला आर्टलगायत हिन्दु र बौद्ध धर्मका भाव पोखिने प्राचीन मूर्ति र अरू थुप्रै मूर्त अमूर्त सम्पदाले प्राचीन कालदेखि नै नेपालमा  धार्मिक सद्भाव थियो भन्ने सन्देश दिँदै आएका छन् । 

सङ्ग्रहालयका सूचना अधिकारी सुरेशमान लाखे दरबार क्षेत्रमा वास्तुकला, मूर्तिकला हेर्नहरु बढी हुने गरेको बताउनुहुन्छ । उहाँका अनुसार सुन्दरी चोकको कलाकृति छुट्टाउनै नहुने सम्पदा हो । उहाँ एक पटक सङ्ग्रहालय घुम्न आग्रह गर्नुहुन्छ । 

दरबार क्षेत्रका शताब्दिऔँ देखिका टुँडालहरू आजको अत्याधुनिक इन्जिनियरिङको आधार  हो । प्राचीन कालीन, धार्मिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व रहेको उक्त क्षेत्रले लामो उतारचढावपछि २०५४ मा स्थापित सङ्ग्रहालयको स्वरूप पाएको हो । देशभित्र मात्रै नभई विश्वमै नेपाली कलाको प्रचारको माध्यम बनेको पाटन दरबार सङ्ग्रहालय नेपाली कला संस्कृति र सम्पदाको नमुना

प्रतिक्रिया राख्नुहोस्

Back to top button