जिएम समाज र ढुङ्गे देउराली लामाचौर भलिबलको फाइनलमा
पोखरा । जिएम समाज र ढुङ्गे देउराली क्लब पोखरामा जारी लामाचौर भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् ।

सोमबार लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजकलाई सोझो सेटमै पराजित गर्दै जी.एम. समाज फाइनल पुगेको हो । समूह ‘बि’ को उपविजेता कावासोतीको जी.एम. समाज समूह ‘ए’ को विजेता आयोजक नवआदर्श सामुदायिक विकास समाज विरुद्ध फाइनल प्रवेशका लागि कोर्ट उत्रिएकोमा ३–० सेटमा सहजै हराउन सफल भयो ।
जी.एम. समाजले २५–१३, २५–२० र २५–२० सेटमा खेल आफ्नो पक्षमा पार्न सफल भयो । मेलमा म्यान अफ दि म्याच विश्वास अधिकारी घोषित भएको नेपाल भलिबल सङ्घ केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले बताउनुभयो ।
यसैगरी, दोस्रो सेमिफाइनलमा स्याङ्जा पौवेगौडेको ढुङ्गे देउराली क्लबले विभागीय एपिएफ पोखरालाई सोझो सेटमै पराजित गरी फाइनलमा यात्रा तय गरेको हो । एपिएफ समूह ‘बि’ को विजेता हुँदै सेमिफाइनल पुगेको थियो । समूह ‘ए’ को उपविजेता ढुङ्गे देउराली हो ।
ढुङ्गे देउरालीले पहिलो सेट २५–१९ जितेर अग्रता कायम गरेको थियो । बाँकी सेट २५–२३ र २५–१९ मा रोमाञ्चक जित हात पार्दै जी.एम. समाजसँग फाइनल सुनिश्चित गरेको हो । ढुङ्गे देउरालीका लिफ्टर राजन दर्माली म्यान अफ दि म्याच घोषित हुनुभयो ।
६ टिमले भाग लिएको प्रतियोगितामा आयोजक र एपिएफ लिग चरणमा समान २–२ खेल खेल जितेर सर्वाधिक ६ अङ्कका साथ समूह विजेता हुँदै सेमिफाइनल खेलेका थिए । सोमबारकै लिग चरणमा आयोजकले ढुङ्गे देउरालीलाई ३–१ सेटमा र एपिएफले जी.एम.समाजलाई ३–१ सेटमै हराएको थियो । माछापुच्छ्रे गाउँपालिका र कृष्ण दल फूलबारी अङ्कविहीन हुँदै अघिल्लो दिन प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।
फाइनल मङ्गलवार दिउँसो १ बजे हुने भएको समाजका अध्यक्ष ई.दिनेश भण्डारीले बताउनुभयो । त्यसअघि, बिहान ११ बजे अन्तर मावि छात्रा भलिबलको फाइनल हुनेछ । जसमा टप्स र शान्त मावि फाइनल प्रतिस्पर्धा गर्नेछन् ।
पुरुषतर्फ विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार दिइनेछ । अन्तर मावितर्फ विजेताले १ लाख र उपविजेताले ५० हजार तथा सर्वोत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछ । साथै, दुवै इभेन्टमा उत्कृष्ट विधामा आकर्षण पुरस्कार व्यवस्था छ ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा संस्थाको २९ औँ वार्षिक समारोह एवं तीज अवसरमा २७ औँ संस्करणको लामाचौर तीज महोत्सव आइतबारदेखि सुरु भएको हो । मङ्गलवारसम्म सञ्चालन हुने महोत्सवमा कलाकारको दैनिक प्रस्तुति, तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता लगायत विविध कार्यक्रम भइरहेको पूर्व अध्यक्ष बुद्धि खत्री क्षत्रीले बताउनुभयो ।
महोत्सवमा औद्योगिक तथा व्यापारिक ५० स्टल राखिएको छ । महोत्सवको अन्तिम दिन मङ्गलवार चर्चित कलाकार प्रकाश दूतराज, श्रीदेवी देवकोटा, राजु ढकाल, कृति गुरुङ लगायत कलाकारको प्रस्तुति हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्